ताजा अपडेट »

कांग्रेसद्वारा बाढी, पहिरो प्रभावितको उद्धारमा लाग्न आग्रह

सोमबार, ३० असार २०७६, १४ : २५
4 Shares

असार ३०,
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरूलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् ।

सभापति देउवाले सोमबार एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गरेका हुन् । उनले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ, त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले कांग्रेसले गर्नेसमेत जानकारी गराएका छन् ।

केही दिनयता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति यसअघि कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले यही असार २७ गते दुःख व्यक्त गरेको थियो ।

‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँ । विपत्तिको समय आन्तरिक राजनीतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो,’ विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने ६ दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।