ताजा अपडेट »

सैनामैनाको नीति कार्यक्रम : स्वास्थ्यमा प्राथमिकता, नगरबासीलाई कोभिड विरुद्धको खोप

शनिबार, ०५ असार २०७८, १९ : ०१
10 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधाको विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवाको विस्तार र विकासमा केन्द्रित रहेको छ ।

शनिबार सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धिसँगै स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिने बताए । नगर प्रमुख कार्कीले आगामी वर्षभित्र नगरवासिहरुलाई खोप लगाउन आवश्यक प्रबन्ध मिलाईने उल्लेख गरे । यसैगरी पर्रोहा स्वास्थ्य चौकीलाई १५ सैय्यामा स्तरोन्नति गरि विशेषज्ञ सेवासहित अत्याधुनिक उपकरण र जशक्तिको व्यवस्था गरिने भएको छ । स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गरिने नगर प्रमुख कार्कीले बताए । सालझन्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्ने र स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण, कोभिड–१९ अस्थायी अस्पतालमा दक्ष जनशक्ति र उपकरण थप गरी आइसोलेशन निर्माण लगायलाई पनि नीति कार्यक्रमले प्राथमिकतामा राखेको छ । कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरिने भएको छ ।

गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रम, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रम, हेलो आमा कार्यक्रम, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा, महिलाहरूको नियमित पाठेघर परीक्षण, स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न शिविर सञ्चालन लगायतका विषयहरुलाई पनि नीति कार्यक्रममा समेटिएको छ । नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र ८४ वर्ष उमेर काटेका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य वीमाको व्यवस्था मिलाउने भएको छ ।

पौष महिना भित्रै सुकुम्बासीलाई जग्गाधनी पूर्जा
सैनामैना नगरपालिकाले आगमी पौष महिना भित्र नगरमा रहेका सुकुुम्बासीहरुलाई जग्गा धनीपूर्जा वितरण गर्ने महत्वकांक्षी योजना प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कार्कीले नापि गर्ने प्रयोजनका निम्ति सैनामैना नगरपालिका भित्र कुल ९६ ठाउमा कन्ट्रोल प्वाईन्ट स्थापना गरि डिजिपिएस जडान कार्य भइसकेको जानकारी गराउँदै यस्तो बताएका हुन् । आगामी कार्तिक महिनाभित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासयुक्त जग्गाको नापि गर्ने, नक्सा श्रेस्ता तयार गर्ने काम सम्पन्न गरिने र पुष महिनाभित्र जग्गाधनी प्रमाणपत्र पूर्जा वितरण गरिने उल्लेख गरे ।

पूर्वाधार विकास तथा सडकमा जोड
सैनामैना नगरापालिकाले पूर्वाधार विकास तथा सडकको स्तरोन्नतीमा जोड दिएको छ । ‘नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार’ नारासहित सडकको विस्तार तथा स्तरोन्नतीलाई जोड दिएको हो । नगरपालिकाको पूजिँगत बजेटको न्युनतम ३ प्रतिशत बजेट सडक मर्मत तथा संभार गर्ने कार्यको लागि विनियोजन गर्ने बताउँदै नगर प्रमुख केसीले आगामी आर्थिक वर्ष भित्रै सैनामैना चक्रपथ निर्माणको काम सम्पन्न गरिने उल्लेख गरे । नगरपालिकाभित्रका ६,८,१० र १४ मिटर कालोपत्रे भएका सडकमा निजि र सरकारि पूर्वाधार निर्माण गर्दा निर्माण सामाग्री सडकमा डम्पिङ गर्न नपाईने नीतिगत व्यवस्था गरिएको छ । मुर्गिया–लुम्विनी सडकको मुर्गिया– सुर्यपुरा खण्डमा पुल स्तरउन्नती गरिने भएको छ भने विश्व बैँकबाट डिपिआर तयार भइसकेको सैनामैना मेजर सडकको बाँकि रहेको ९ किलोमिटर सडक कालोपत्रे, बाँकि रहेका पुल, कल्भट निर्माण कार्य प्रदेश सरकारको सहयोगमा अगाडि बढाइने भएको छ ।

यसैगरी पूर्वाधारतर्फ प्रदेश सरकारको लगानीमा वडा नम्बर ९ मा निर्माणाधीन अत्याधुनिक यात्रु प्रतिक्षालय सहितको रिफ्रेस सेन्टरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । संघीय सरकार र प्रदेश सरकारको सहलगानीमा वडा नम्बर ३ मा अवस्थित लामीरहको बहुउद्देश्यीय बाधको पहिलो चौमासिक भित्र बहुवर्षिय ठेक्का व्यवस्थापन गराई निर्माण कार्य सुरुवात गरिने भएको छ । सार्वजनिक निजी साझेदारी मार्फत निजी क्षेत्रलाई विकास साझेदारको रुपमा सहभागी गराईने नगर प्रमुख केसीले उल्लेख गरे ।

संघिय आयोजनाको रुपमा रहेका निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान र मुर्गियास्थित फुटबल रङ्गशाला निर्माणको लागि प्रयाप्त श्रोतको सुनिश्चितता गर्न संघिय सरकारसंग पहल गर्ने, नगरपालिकाभित्र वडा नम्बर २,६ र ११ मा खुला व्यायामशाला स्थापना गरी सञ्चालनमा ल्याउने, लम्टैयामा निर्माणाधिन औद्योगिक ग्रामको दोस्रो चरणको निर्माण कार्य सम्पन्न गरी नगरभित्रका उद्यमी तथा सहकारीलाई औद्योगिक ग्राममा साना तथा मझौला उद्योग स्थापना गरी सञ्चालन गर्न तोकिएको मापदण्ड बमोजिम मागको आधारमा आवश्यक पर्ने जग्गा उपलब्ध गराउने लगायतका योजनाहरु नीति कार्यक्रममा उल्लेख गरिएका छन् ।

यसैगरी मुर्गियामा निर्माणाधिन शीत भण्डारको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने, बासँगढीमा बिउ भण्डार केन्द्र स्थापना, वडा नम्बर ४ मा सीप विकास प्रतिष्ठानको निर्माण, वडा नम्बर १ मा प्रदेश स्तरको जेष्ठ नागरिक संरक्षण ग्राम र अपाङ्ग संरक्षण ग्राम लगायतका विषयहरुले पनि प्राथमिकता पाएका छन् । हालसम्म पनि बिद्युत लाइन जडान नभएका स्थानहरुको पहिचान गरी ती स्थानहरुमा विद्युत लाइन जडान गर्ने, आगामी वर्षभित्र सबै वडा कार्यालयको प्रशासनिक भवन निर्माण लगायतका योजनाहरु प्रस्तुत गरिएका छन् ।

पर्यटन तर्फ पर्रोहा परमेश्वर बोलबमधाम मन्दिरको निर्माण कार्य समपन्न गरि मन्दिरलाई हिन्दु धर्मावलम्विको प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गरिने भएको छ । वडा नम्बर ८ मा लुम्बिनी सांस्कृतिक शहर निर्माणको लागि जग्गा एकिकृत गर्ने सहितको परियोजना नगर विकास कोषको साझेदारीमा अगाडि बढाईने भएको छ । यस्तै वडा नम्बर ५ को कोटियाथानमा थारु संग्राहलय निर्माण गरिने भएको छ ।
निर्माणाधिन फूलवारी पार्क, वोलबम पर्यावरणीय पार्क र मलमला पार्कमा श्रोत वृद्धि गर्न पहल गरिने नगर प्रमुख केसीले बताए । वडा नं. ११ को राजापानी पर्यटकीय क्षेत्र, वनकट्टीमा ग्रिनपार्क र वडा नम्बर ९ मा वालउद्यानको डि.पि.आर. सम्पन्न भइसकेको हुँदा संघीय र प्रदेश सरकारसँग स्रोत व्यवस्थापनको लागि पहल गर्नुका साथै सामुदायिक वन र नीजि क्षेत्रको साझेदारिमा निर्माण गर्ने नीति लिईने भएको छ ।

यस्तै वडा नं. ३ को साविक मुर्गिया हाटबजार र दूर्गा मन्दिर क्षेत्रलाई समावेश गरी शैलपुत्रि पार्क निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । यसैगरी नगरको विकासका लागि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै उत्कृष्ट सञ्चाकर्मिलाई सम्मान गरिने नगर प्रमुख केसीले बताए । पूर्व–पश्चिम लोकमार्गको उत्तरतर्फ रहेका सबै फर्निचर उद्योगलाई पूर्व–पश्चिम लोकमार्गको दक्षीणतर्फ स्थानान्तरण गर्नुपर्ने नीतिलाई कडाईपूर्वक लागु गरिने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।