ताजा अपडेट »

मेलम्चीको बाढीले हेलम्बुमा ढाल्याे प्रहरी कार्यालय

शनिबार, ०५ असार २०७८, ०९ : १४
2 Shares

काठमाडौँ । मेलम्ची नदीमा आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुको भवन ढालेको छ। मेलम्ची खोलामा आएको बाढीले धरापमा परेको भवन नदीको धार परिवर्तन हुने क्रममा लगातार छालले हिर्काउँदा शनिबार बिहानीपख भवन ढलेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले जानकारी दिए।

उनले भने, ‘बाढीले क्षति गरेर जोखिममा परेका कारण सामान यसअघि नै सारिएको थियो। सोही कारण मानवीय क्षति भएन। तर तीन करोड ४२ लाखको लागतमा निर्माण भइ केही महिनाअघि मात्रै उद्घाटन भएको भवन भने ढलेको छ। सो नदीले बारम्बर धार परिवर्तन गर्दा सो क्षेत्रका अरु केही घरहरु पनि ढल्ने जोखिममा छन्।’

अहिले भने मेलम्ची तथा इन्द्रावती नदीमा पानीको बहाव घट्दो क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। तर नदीले धार परिवर्तन गर्ने क्रम भने निरन्तर छ। शुक्रबार बेलुका केही समय नदीमा पानीको बहाव बढे पनि त्यसपछि घट्दो क्रममा रहेको र जोखिम केही कम भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

पानी पर्ने क्रम रोकिएको तथा नदीमा बहाव पनि कम हुने क्रम जारी रहेकाले जोखिम केही कम भए पनि सतर्कता भने चाहिने उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।