ताजा अपडेट »

जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको ९७ बर्षमा निधन

शुक्रबार, ०४ असार २०७८, १५ : २२
6 Shares

लुकासा । अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उहाँको निधन भएको पुष्टि गरेका हुन् । उनलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनियाका कारणले उनको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो । जाम्बियाका राष्ट्रपति एडगर लुँगुले मुलुकका प्रथम राष्ट्रपतिको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरे । “राष्ट्रको अभिभावकको रुपमा रहेका प्रथम राष्ट्रपति काउन्डाको निधनको खबरले म स्तब्ध भएको छ, यो दुःखद समयमा म उनको परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु,,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

राष्ट्रपति लुँगुले प्रथम राष्ट्रपति काउन्डालाई अफ्रिकी क्षेत्रकै अनुकरणीय व्यक्तित्वको रुपमा चर्चा पनि गरे । जाम्बिया बेलायती उपनिवेशबाट मुक्त भएपछि उनी सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित भए । सन् १९५० को दशकमा भएको बेलायती उपनिवेश विरुद्धको आन्दोलनमा उनी प्रमुख आन्दोलनकारी नेताका रुपमा सक्रिय रहेका थिए । आन्दोलन सफल भएपछि सन् १९६४ मा सुरु भएको उनको राष्ट्रपतिको कार्यकाल भने सन् १९९१ सम्म रहेको थियो । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।