May 27, 2022
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई अत्यावश्यक कृषि सामग्री वितरण गरेको छ । जिल्लाकै उत्कृष्ट तरकारी पकेटक्षेत्रका रुपमा मानिएको मटिहानी–६ का किसानलाई आज नगरप्रमुख हरिप्रसाद मण्डलले कृषि सामग्री वितरण गरेका हुन्। खेतीको मुख्य बेला जिल्लामा कोभिड–१९ सङ्क्रमण छल्न जारी निषेधाज्ञाबीच कृषि सामग्री लिन बजार जान नसकेका किसानलाई यो कार्यक्रमले राहत दिएको छ ।
नगरपालिकाले नेपाल सरकारको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पैकेट) विकास कार्यक्रमअन्तर्गत गटोर, स्पेयर्स, हजारी जैविक मल, जैविक किटनाषक औषधि (विषादी), कृषि चुन, बीउविजनसहितका कृषि सामग्री किसानलाई प्रदान गरेको हो । बस्तीका व्यवसायिक रुपमै तरकारी खेती अपनाएका ३० जना किसानलाई पहिलो चरणमा सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
किसानलाई खेती कार्यमा सहज र उत्प्रेरित गराउन यो कार्यक्रम प्रभावकारी हुने नगरपालिकाको कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए । यो कार्यक्रमले निरन्तरता पाउने शाखाले जनाएको छ । महाव्याधिले जकड्याएर कृषि सामग्री ल्याउन कतै निस्कन नसकेका बेला प्राप्त सामग्रीले खेतीपातीको काम अघि बढाउन राहत मिलेको किसानले बताएका छन् ।
प्रतिकृया दिनुहोस्