ताजा अपडेट »

काठेपुलसँगै पानीघट्ट बगायो

विहीबार, ०३ असार २०७८, १२ : ४९
6 Shares

जाजरकोट । लगातार परेको अविरल वर्षाका कारण बुधबार बेलुकी डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँस्थित खोलामा काठेपुल र पानीघट्ट बगाएको छ । कोठेपुल बगेसँगै स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । घट्ट बग्दा करिब ३५० घरधुरीले अन्न कुटानी, पिसानी गर्न मुस्किल परेको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिए । त्यस्तै स्थानीय घट्टेखोला जलविद्युत् आयोजनाको विद्युत् सञ्चालन गर्नका लागि जाने बाटो नै अवरुद्ध भएपछि दुई घण्टा लामो बाटो प्रयोग गर्नुपरेको कार्कीले बताए ।

त्यस्तै दुरगाउँकै हिमालय आधारभूत विद्यालयको भवन पहिराले भत्काएको छ । विद्यालय भत्काएसँगै नयाँ कसरी बनाउने चिन्ता थपिएको छ । वडा नं ६ कै यार्सागुम्बा सङ्कलन गर्ने रुपपाटनमा लगिएका २० गाई, गोरु मरेका छन् । निरन्तर पानी पर्दा चिसोका कारण गाई गोरु मरेका हुन् । त्यस्तै जुफालबाट दुनै जाने सडकको बीचमा रहेको खोलामा पानीको बहाव बढेका कारण अस्थायीरूपमा हालिएको काठेपुलमा क्षति भई समस्या भएको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउ ।

टेलिफोन सेवा अवरुद्ध

जाजरकोट सदरमुकाम र अन्य छ स्थानीय तहको सञ्चार सेवा विच्छेद भएको छ । निरन्तर वर्षाका कारण टेलिफोन टावरमा रहेका सोलारमा चार्ज नहुँदा टावर अवरुद्ध भएका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । फोन सेवा नहुँदा कुशे गाउँपालिका वडा नं ८ र ९ का सात व्यक्ति बेपत्ता स्थानीयवासीका बारेमा जानकारी आउन सकेको छैन ।

रासस
लेखकको बारेमा
रासस