ताजा अपडेट »

राजमार्गमा पुल नहुँदा समस्या

विहीबार, ०३ असार २०७८, ११ : ४०
4 Shares

तम्घास । गुल्मीको मालिका गाउँपालिका–७ घमिरका एक दम्पत्तीलाई जेठ २८ गते कोरोना पुष्टि भयो । श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो । चारदिनसम्म स्थानीय स्वास्थ्य संस्थामै उपचार गराएका दम्पत्तीलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार पाँचौँ दिनमा मङ्गलबार तम्घास पठाउने तयारी भयो । घमिरबाट अर्जै हुँदै तम्घास जाने सडकमा पहिरो गएकाले तम्घास पुग्न सम्भव भएन । घमिरकै एम्बुलेन्स प्रयोग गरी सङ्क्रमित सिलादीसम्म झरे पनि घमिरबाट आएको खोला बढेका कारण एम्बुलेन्स तर्न सकेन । उनीहरुलाई ल्याउन नेपाली सेनाको ट्रक तम्घासबाट सिलादीतर्फ गयो तर इस्माको गुर्बा खोलामा अर्को ट्रक अड्किएको कारण सेनाको ट्रक बिरामी भएको ठाउँसम्म पुग्न सकेन । बिरामी भने मङ्गलबार सिलादीमै बस्नु पर्यो ।

बुधबार बिहान बर्षा अलि कम भएपछि बिरामी बोकेर गुडेको एम्बलेन्स घमिर खोला तरेपनि रोदी खोलाको बीचमा फस्यो । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा एम्बलेन्सलाई खोलाबाहिर निकालियो । अहिले सङ्क्रमित बुल्मको एक होटलमा बसेका छन् भने गाउँपालिकाको अर्को पिक अप गाडी सङ्क्रमित भएको ठाउँसम्म जाँदै गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए ।

भुसालका अनुसार लगातार परेको वर्षाले खोलामा बाढी आएका कारण बिरामीलाई अस्पताल पुर्याउन सकिएको छैन । अहिले बिरामीको अवस्था झन गम्भीर हुँदै गएको छ । घमिरबाट आउने बिरामी मात्र होइन, अहिले जिल्लाका अधिकांश ठाउँको हालत यस्तै छ । तम्घासबाट सिमलटारीसम्म २३ किलोमिटर बाटो कालोपत्रे गरिए पनि यस सडकको बीच भागमा पर्ने खोलामा पुल नबन्दा यात्रु भने मर्कामा परेका छन् ।

राजमार्गमा इस्मा गाउँपालिकाको गुर्बामा गुर्बा खोला, इस्मामै रोदी खोला, चौरासी नजिककैको खोला, हुलाके खोला र घमिर खोला पर्दछन् । अहिलेसम्म कुनै पनि खोलामा पुल नहुँदा यातायात सञ्चालन हुन सकेको छैन । राजमार्गमा गुर्बा खोलामा कल्भट बनेपनि गत वर्ष ठूलो बाढी आउँदा कल्भर्ट थुनिएर वरपरका घर डुबेपछि स्थानीयवासीले कल्भर्ट नै भत्काइदिएकाले अहिले त्यहाँको आवाज–जावत बन्द छ । रोदी खोला, चौरासी नजिकैको खोला, हुलाके र घमिर खोलामा पुल छैनन् । राजमार्ग बनेपनि पुल नबन्दा विपत्मा राजमार्गको उपयोग हुन सकेको छैन । गुर्बादेखि नै पुल नबन्दा इस्माको हस्तीचौर, धुर्कोटको वस्तु, मदाने र मालिका गाउँपालिकाका वासिन्दा तम्घास आवत–जावत गर्न नसक्ने भएका छन् ।

मदन भण्डारी राजमार्ग गुल्मीका प्रमुख शशांक मिश्रले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुलको डिपिआर भइरहेको जानकारी दिए । गुर्बाखोलामा पानीको सतह कम हुँदाबित्तिकै ह्यूमपाइप राखेर तत्काल यातायात सञ्चालन गर्ने तयारी भएको मिश्रले बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वर्षायाम बढेकाले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरे । तत्कालको लागि पुल र आवश्यक वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि शर्माले बताए ।

रासस
लेखकको बारेमा
रासस