ताजा अपडेट »

तिनाउमा आकर्षक अविरल पार्क ,पर्यटनको केन्द्र बन्ने विश्वास

बुधबार, ०२ असार २०७८, १३ : ५५
10 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका रुपन्देहीसँग जोडिएको गाउँपालिका हो । अझै रुपन्देहीको आर्थिक तथा औधोगिक शहर बुटवलसँग सिमा र नदीले पनि जोडिएको गाउँपालिका हो । तिनाउ नदिकै नामबाट नामाकरण गरिएको गाउँपालिका तराई र शहर दुबैसँग पनि जोडिएको छ । तिनाउले समतल तराईबासीलाई पहाडको झल्को दिलाउने र पहाडको अनुभूति गराउँदै आएको छ । बुटवल लगाएत रुपन्देहीबासीका लागि तिनाउ गाउँपालिका निकटको आकर्षक पहाडी पर्यटनको गन्तव्य स्थान पनि हो ।

प्राकृतिक रुपमै आकर्षक तिनाउ गाउँपालिकामा पछिल्लो समय विभिन्न आकर्षक पार्कहरु पनि निर्माण भइरहेका छन् । प्राकृतिक,धार्मिक र ऐतिहासिक स्थल तिनाउ गाउँपालिकामा बनेका र बन्दै गरेका पार्क तथा संरचनाले सुनमा सुगन्ध थपेसरह हुने विश्वास गाउँपालिकाको रहेको छ । गाउँपालिकाले स्थापनासँगै निर्माण सुरु गरेको अविरल पार्कको निर्माण जारी छ ।

द्वन्द्वकालमा मारिएका विद्यार्थी नेता १४ वर्षिय मानसिंह बस्नेत ‘अविरल’को सम्झनामा निर्माण गर्न लागेको उक्त पार्क करिब सञ्चालनमा आएको छ । तिनाउ गाउँपालिका –२ मा अवस्थित सातपत्रे सामुदायिक वनमा रहेको पार्क प्राकृतिकसँगै निर्माणले आकर्षक बनेको छ । गाउँपालिकाले सो पार्क निर्माणका लागि विं.सं.२०७४ मा पहिलो पटक ६ लाख बजेट छुट्टाएको र सो ५० हजारको डिपिआर तयार गरी निर्माण सुरु गरिएको सो वडाका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्त राजेश श्रेष्ठले बताए ।

उनले भने ‘ माओवादी द्वन्द्वकालमा विद्यार्थी नेता मानसिंह बस्नेतलाई नेपाली सेनाले पक्राउ गरे । झोलामा प्रचार सामग्री पाएको अधारमा उनलाई माओबादी ठानेर उनलाई हालको तिनाउ गाउँपालिका र यसै पार्क रहेको स्थानमा ल्याई गोली हानी हत्या गरियो । उनको हत्यापछि म लगाएत मनविर गर्वुजा र श्याम पाठकको रोहभरमा यसै स्थानमा उनको शव गाडिएको थियो । निर्वाचित भएपछि मैले उनको सम्मान र सम्झनामा यस स्थानमा केही गर्ने,बनाउने उद्देश्यले गाउँपालिकामा प्रस्ताव राखेर पहिलो पटक ६ लाख बजेट छुट्टायौं । जसबाट डिपिआरसँगै ट्रस र शौचालय निर्माण गर्यौं ।’

गाउँपालिकाको बजेटबाट पार्क निर्माण गर्दा सुरु–सुरुमा केही आलोचना भएतापनि पार्क निर्माणपछि देखिएको सहभागिता र आकर्षणले थप उत्साह बढेको र गाउँपालिकासँगै प्रदेश सरकारले पनि सहकार्य गरेको उनी बताउँछन् । उनले भने‘सुरुआत गरेपछि ०७५ मा पनि गाउँपालिकाबाट ७ लाख बजेट छुट्टाइयो,७६ मा १५ लाख त्यैसैगरी आर्थिक वर्ष ७७÷७८ मा गाउँपालिकाबाट २५ लाख र हालको लुम्बिनी प्रदेश सरकारबाट २५–२५ लाख बजेट प्राप्त भयो । पछिल्लो बजेटले निर्माणमा सहज र पार्कको स्वरुपमा परिर्वतनमा धेरै टेवा पुग्यो ।’

रु. १ करोड १३ लाख लागत अनुसार डिपिआर तयार गरिएको पार्कमा हालसम्म ७८ लाख लगानी रहेको गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष श्रेष्ठले बताए । आगामी आर्थिक वर्षको बजेटबाट पनि पार्कलाई प्रदेश सरकार र गाउँपालिकाबाट राम्रै बजेट आउने कुरामा पनि उनी विश्वस्त छन् । तिनाऊ नदिको किनार हरियाली वनभित्र बनेको पार्कले जैविक पर्यटनमा टेवा पुग्ने उनको विश्वास छ । वनभित्र पार्कका लागि समामुदायिक वनले सहजीकरण गरेकोले पनि सहज भएको उनने बताए । पार्कको निर्माण सम्पन्न भएपछि सञ्चालन र रेखदेखको जिम्मेवारी वनलाई नै दिइने उनले जनाए ।

उनले भने ‘स्थानीय तहले स्थानीय स्रोत र साधनलाई संरक्षणसँगै उचित प्रयोग गर्ने हो । सोही अनुसार हामीले सातपत्रे सामुदायिक वनसँग आग्रह र सहकार्य गर्दै पार्क निर्माण गर्दै छौं । हाल यहाँ प्रवेश र अवलोकन निःशुल्क रहेको छ । निर्माण सम्पन्न भएपछि यसको सुरक्षार्थ रक्षकको व्यवस्था गर्दै सञ्चालन,संरक्षण र प्रवद्र्धनका लागि वनलाई नै हस्तान्तरण गरी जिम्मेवारी दिन्छौं ।’ पार्कमा चिल्ड्रेन पार्क,ट्रस,सिढी र रेलिङ्ग,शौचालय,योगास्थल लगाएतका संरचनाहरु ब्निसकेका छन् भने योगाहल,सभाहल,चमेनागृह,खानेपानी टंकी लगाएत निर्माण तथा सजावट र व्यवस्थापन बाँकी रहेका छन् ।

पारी आकर्षक पहाड र सिद्धार्थ राजमार्ग,बीचमा तिनाउ नदिको बहाव र वारी हरियाली वन,उचाइमा रहेको पार्क जाने सिढी र सो अवधीमा देखिने निर्मित संरचना , पार्क हुँदै डाडाँ र डाडाँबाट देखिने तिनाउका सडक,गाउँबस्ती,पक्की पुल,झोलुङ्गे पुल , चुरे पहाड, रेलजस्तै देखिने लामद्ध टिप्पर,चाँदी जस्तै चम्कने बादल,तिनाउ नदि लगाएतका दृश्य सो पार्कका विशेष्ता हुन् । पार्कको निर्माण सम्पन्न भएपछि ती दृश्य अवलोकनका लागि उल्लेख्य स्थानीय र बाह्य पर्यटकको आगमन हुनेमा गाउँपालिका विश्वस्त रहेको छ । यसबाट तिनाउ गाउँपालिकाको प्रवद्र्धन र विकासमा टेवा पुग्नेमा आफूहरु आशाबादी रहेको गाउँपालिका प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने ‘अविरल पार्कले धेरै कुरा समेट्ने प्रयास गरेका छौं । यसबाट समग्र गाउँपालिका झल्कने छ । तिनाउमा विशेषताहरु झल्कने अन्य सामग्रीहरु पनि निर्माण गरिने छ । यसले यसको प्रवद्र्धन,विकाससँगै आय स्रोतमा पनि वृद्धि हुने छ । स्थानीय स्तरमा रोजगार बढ्ने छ । पार्कलाई आकर्षक र व्यवस्थित बनाउन वनभोज स्थल निर्माण गर्ने, स्थानीय कला संस्कृति झल्कने संरचना बनाउने र व्यवस्थित बनाउने हाम्रो योजना रहेको छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।