ताजा अपडेट »

तिनाउ नदी खतराको स्थितिमा, नदी किनारका बस्तीमा जोखिम बढ्यो

मंगलबार, ०१ असार २०७८, १८ : ०६

बुटवल । लगातारको वर्षासँगै नदीनालाहरुमा पानीको बहाव बढ्दै गएपछि रुपन्देही जिल्ला प्रशासनले उच्च सतर्कता अपनाएको छ । आवश्यक उद्धार तथा सुरक्षाका लागि सबै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी गराए ।

रुपन्देहीको तिनाउ र दानव नदीले हुन सक्ने डुबान, नदी कटान तथा सम्भावित दुर्घटनालाई मध्यनजर गरी सशस्त्र प्रहरीको २ वटा उद्धार टोली तयारी अवस्थामा राखिएको छ । उक्त टोलीमा १५/१५ जना जनशक्ति रहेको र आवश्यकता अनुसार थप गरिउने प्रजिअ तामाङले जानकारी गराए । यसैगरी संघीय प्रहरी इकाई, नेपाल प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकायहरुलाई आवश्यक उद्धार सामग्रीसहित तैनाथी अवस्थामा रहन निर्देशन गरिएको उनले बताए ।

यसैगरी स्थानीय निकायहरु बीच आवश्यक समन्वय गरी सूचना आदाप्रदान भइरहेको तामाङले ग्लोबल आवाजलाई जानकारी दिए । लगातारको वर्षासँगै तिनाउ नदीले खतरको संकेत पार गरेपछि बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले आज दिउसो स्थलगत निरीक्षण गरी तयारी अवस्थामा रहन सुरक्षा निकायलाई आग्रह गरेका थिए । यसैगरी तिनाउ, दानव नदी किनारमा रहेका बस्तीहरुमा बाढी बस्न सक्ने तथा नदी कटान हुन सक्ने भन्दै उच्च सकतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

https://www.globalaawaj.com/archives/113906
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।