ताजा अपडेट »

अरू मुलुकलाई अनुदान दिन फाइजरको ५० करोड डोज भ्याक्सिन किन्दै अमेरिका

विहीबार, २७ जेठ २०७८, ११ : २४

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले अर्को वर्षसम्म फाइजर कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको ५० करोड डोज खोप संसारका झन्डै सय मुलुकलाई दिने योजना बनाएको छ। स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज खोप संसारका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई दिन लागेको जनाएका छन्।  

अमेरिकाले दिने यो खोप कोभ्याक्सअन्तर्गत बाँडिनेछ। राष्ट्रपति जो बाइडेनले बेलायतमा जी ७ सम्मेलनका क्रममा यो अनुदानको घोषणा गर्ने अनुमान गरिएको छ। ह्वाइटहाउसका अधिकारीहरूले पछिल्लो चार सातामा फाइजर/बायोएनटेकसँग खोप खरिदको सम्झौता गरेको उल्लेख गरिएको छ। अमेरिकी टेलिभिजन सिएनबिसीले अमेरिकी सरकारले अरू देशलाई अनुदान दिन मोडेर्नासँग पनि खोप खरिदका लागि वार्ता गरिरहेको बताएको छ। बेलायत जान एयरफोर्स वन विमान चढ्नुअघि राष्ट्रपति बाइडेनले आफूसँग ग्लोबल भ्याक्सिनका लागि रणनीति भएको संवाददाताहरूसँग बताएका थिए। तर उनले उक्त रणनीतिको विस्तृत विवरण खुलाएनन्।  

अमेरिकालाई संसारभरि खोप उपलब्ध गराउन ठूलो दबाब छ। अहिलेसम्म अमेरिकाले आफ्ना ६४ प्रतिशत नागरिकलाई कोरोनाविरूद्धको पहिलो खोप लगाइसकेको छ। अमेरिकाले चीन र रूसको भ्याक्सिन कूटनीतिलाई चुनौती दिन पनि संसारमा आफूले दिने अनुदानको खोपलाई बढाइरहेको छ। बाइडेन प्रशासनले यसअघि जुन अन्त्यसम्ममा ८ करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई दिने घोषणा गरिसकेको छ। त्यसको पहिलो लटमा २ करोड ५० लाख डोज कुन कुन क्षेत्रका मुलुकले पाउने भन्ने पनि एकिन भइसकेको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार गत बिहीबार घोषणा भएको २ करोड ५० लाख डोज खोपमध्ये एक करोड ९० लाख डोज कोभ्याक्समार्फत् बाँडिनेछ। कोभ्याक्स विश्वका गरिब तथा अविकसित मुलुकलाई कोरोनाको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलगायत संस्थाहरू मिलेर बनाएको अभियान हो। उक्त १ करोड ९० लाख डोज खोप तीन क्षेत्रका देशहरूका लागि बाँडिनेछ। जसअनुसार मध्य र दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, अर्जेन्टिना, कोलोम्बिया, कोस्टारिका, पेरू, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पानमा, हैटी र अरू क्यारेबियन मुलुकहरूलाई ६० लाख डोज बाँडिनेछ।

भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिप टापुहरूलाई ७० लाख डोज दिइनेछ। अफ्रिकन युनियनको सहजीकरणमा झन्डै ५० लाख डोज खोप अफ्रिकी मुलुकहरूबीच बाँडिने ह्वाइटहाउसले जनाएको छ।  बाँकी ६० लाख डोज खोप भने अमेरिकाले प्राथमिकताका आधारमा सोझै ती मुलुक र क्षेत्रहरूलाई दिनेछ। यो ६० लाख डोज खोप सोझै पाउने मुलुकमा नेपालको नाम समावेश छैन। उक्त खोप मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यांक, युक्रेन, कोसोभो, हैटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक र यमनसँगै संयुक्त राष्ट्रसंघका फ्रन्टलाइन कर्मचारीलाई दिइनेछ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।