ताजा अपडेट »

डाबरका औषधि गुणस्तरहीन, आर्सनिकको मात्रा भेटियो

सोमबार, २३ असार २०७६, १४ : ४०
14 Shares

असार २३,
काठमाण्डौं । भारतबाट आयातित हुने  केही आयुर्वेदिक औषधि गुणस्तरहीन र हानिकारक भएको उपभोक्ता हित संरक्षण मञ्चले बताएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चले पत्रकार सम्मेलनमार्फत् केही औषधिमा हानिकारक तत्व रहेको बताएका हो । डाबर इण्डिया लिमिटेडबाट उत्पादन भएको र डाबर नेपालबाट वितरण भइरहेको औषधिमा मञ्चले प्रश्न उठाएको हो । मञ्चका महासचिव बाबुराम गुरागाईले विभिन्न ल्याबमा भएको टेष्टबाट डाबरका केही औषधिमा आर्सनिकको मात्रा भेटिएको बताए ।

उनले कारबाहीका लागि यसबारे औषधि व्यवस्था विभागमा समेत जानकारी गराइसकिएको जानकारी दिए । यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत अनुसन्धान गरेको उनको भनाइ छ । महासचिव हुमागाईंका अनुसार डाबरका महायोगराज गुग्गल, पर्वल भास्मा, महावाटा, विगनाश रास, लगायतका नामका औषधिहरुमा यस्तो मात्रा देखिएको छ । यस विषयमा औषधि विभागले सक्रियता देखाउनु पर्नेमा बेवास्ता गरेको उनले गुनासो गरे ।

हुमागाई भन्छन्, ‘तथ्य प्रमाणित भएसक्दा पनि विभागले केही गरेन, गुणस्तरहीन औषधि तत्कालै बन्द गरिनुपर्छ ।’ यद्यपि, डाबरका सबै औषधिलाई नराम्रो भन्न भने नमिल्ने उनले बताए । पत्रकार सम्मेलनमा उपस्थित भएका झापाका बेदप्रसाद शर्माले डाबरको एउटा आयूर्वेदिक औषधि प्रयोग गर्दा शरीरमा आर्सनिक भेटिएको र भारतमा गएर उपचार गराएको जानकारी दिए ।

उनले क्षतिपूर्तिका लागि कानुनी लडाइ लड्ने बताएका छन् । यस विषयमा सीआईबीले अनुसन्धानका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पत्राचार गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।