ताजा अपडेट »

‘स्वास्थ्य मापदण्ड पालनाले मात्रै महामारीबाट जोगिन सकिन्छ’

मंगलबार, २५ जेठ २०७८, १५ : ४०
2 Shares

बुटवल । स्वास्थ्यको मापदण्ड पालना गरेमात्रै कोरोना महामारीबाट जोगिन सकिनेमा जोड दिइएको छ । कदम नेपाल र कोभिड विशेष नर्स समूहले आज आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने विषय सम्बन्धमा भर्चुअलरुपमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य मापदण्ड पालनाले आफू जोगिने मात्र नभइ अरुलाई पनि जोगाउने भएकाले लापरवाही नगर्न आग्रह गरे ।


कोभिड विशेष नर्स समूहका राष्ट्रिय संयोजक दुर्गा सापकोटाले कोभिड-१९ का महामारीबाट जोगिन उचिन खानपान, आइसोलेशनको बसाइ, स्वास्थ्य सतर्कता र नियमीत व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले गर्भवती, उच्च रक्तचाप भएका, चिनी रोग लागेका र दीर्घरोग लागेका व्यक्तिहरु बढि जोखिममा रहने भएकाले यी व्यक्तिलाई सङ्क्रमण भए तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्ने बताउँदै सामान्य अवस्थामा भने पिसिआर परीक्षण गरी आइसालेशनमा बस्नुपर्ने बताइन् । सङ्क्रमण भएर आइसोलेशनमा बस्दा घरमै अक्सिमिटरको सहायताले अक्जिजनको मात्रा जाँच गरी ९४ भन्दा तल भएमात्रै डाक्टरको सम्पर्कमा रहनुपर्ने अन्यथा आत्तिएर अस्पताल जान आवश्यक नरहेको धारणा राखिन् । उनले सङ्क्रमित व्यक्तिले कार्बोहाइड्रेट कम भएको खाना खाने, स्वस्थवद्र्धक खाना खाने र शरीरको आवश्यकता अनुसार दैनिक व्यायाम गर्नुपर्ने बताइन् ।

कोभिड विशेष नर्स समूहका लुम्बिनी प्रदेश परामर्शदाता सुमित्रा ढकालले कोरोना सङ्क्रमण लक्षण नभएको अवस्थामा पिसिआर परीक्षणका लागि नमूना संकलन भएको दिनदेखि १० दिनसम्म र लक्षण भएको अवस्थामा नमूना संकलन भएको दिनदेखि कम्तिमा १० दिनसम्म पनि लक्षण रहिरहेमा १३ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने जानकारी गराइन् । कोभिड विशेष नर्स समूहका प्रदेश संयोजक सृष्टि आचार्यले कोभिड विरुद्ध दिइने खोपबारे धेरै भ्रम रहेकाले भ्रममा नपरी खोप लगाउन आग्रह गरिन् । कोरोना विरुद्ध लड्ने क्षमता वृद्धि गर्ने भएकाले खोप लगाउँदा सुरक्षित हुन सकिने उनको भनाइ छ । कार्यक्रममा कदम नेपालका अध्यक्ष निरु गौतमले अहिले लकडाउनका परिवारका सबै सदस्य घरमा रहँदा एक जना सदस्यले लापरबाही गरे सबै कोरोना सङ्क्रमित हुने खतरा रहेकाले सबै सचेत हुनुपर्ने बताइन् ।

कार्यक्रममा कदम नेपालका संस्थापक अध्यक्ष इन्दिरा आचार्य, हेमा बेल्वासे, शान्ती बिक, सरिता भुसाल, लगायतले आफूले सावधानी नअपनाउने तर सरकारले केही गरेन भनेर दोष दिएर मात्रै सङ्क्रमण नियन्त्रण नहुने भएकाले जीवनशैली परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।