ताजा अपडेट »

उच्च रक्तचाप हुन नदिन सातामा कति समय व्यायाम गर्ने?

मंगलबार, २५ जेठ २०७८, ०८ : १७
2 Shares

व्यस्त समय, मानसिक थकान अनि अव्यवस्थित खानपिन। यी कुराहरुले मानवीय स्वास्थ्य पनि अस्तव्यस्त बन्दैछन्। शारीरिक र मानसिक समस्याहरु बढ्दैछन्। मानिसले आफ्नो स्वास्थ्यका लागि समय नै छुट्याउँदैनन्।

दैनिकरुपमा शारीरिक शारीरिक व्यायाम गर्न सके त्यसले हाम्रो स्वास्थ्य निरोगी र स्वस्थ बनाउन सहयोग पुर्‍याउँछ। तर व्यस्त समयबीच मानिसलाई एउटा द्धिविधा देखिने गरेको छ- व्यायाम त गर्ने तर कति समय ? यसबारे अनेकन सुझावहरु दिइएको देखिन्छ। त्यसमा पनि शारीरिक तथा मानसिक समस्याअनुसार समयका फरक फरक मात्रा छन्। पछिल्लो समय आम रुपमा देखिने गरेको समस्या भनेको उच्च रक्तचाप हो।

एक अध्ययनले सातामा ५ घण्टा अर्थात ३ सय मिनेट शारीरिक ब्यायाम गरे उच्च रक्तचाप रोक्न सकिने सुझाव दिएको छ। १८ देखि ३० वर्ष उमेरका करिब ५ हजार युवायुवतीमाथि ३० वर्षयता गरिएको अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो। तर ती शारीरिक व्यायाम सघन किसिमको हुनुपर्ने छ। अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेसले युवायुवतीलाई सातामा ५ घण्टा शारीरिक व्यायाम गर्न सुझाव दिएको छ।

उसले सातामा कम्तिमा अढाई घण्टा शारीरिक व्यायाम गर्न भनेको छ। तर उच्च रक्तचापजस्ता समस्यालाई आउन नदिन न्यूनतम समयको दोब्बर मात्रामा शारीरिक व्यायाम गर्नुपर्ने उसको सुझाव छ। क्यालिफोर्निया युनिभर्सिटीअन्तर्गत बेनिअफ चिल्ड्रेन्स हस्पिटलले पछिल्लो अध्ययन गरेको हो। अध्ययनमा संलग्न डा‍. किर्स्टेन बिबिन्सले युवा अवस्थामा गर्नुपर्ने शारिरिक व्यायामका लागि यसअघि दिइएको समयको मात्रा, उच्च रक्तचाप हुन नदिन त्यसलाई बढाउनुपर्ने निष्कर्ष आएको बताइन्।

अध्ययनअनुसार सातामा सघन किसिमको शारीरिक व्यायाम ५ घण्टा गर्ने युवायुवतीमा उच्च रक्तचापको सम्भावना त्यसभन्दा कम समय शारीरिक व्यायाम गर्नेको भन्दा १८ प्रतिशत कम हुन्छ।

यसैगरि ६० वर्षको उमेरसम्म साताको ५ घण्टा शारीरिक व्यायाम गर्नेहरुमा उच्च रक्तचाप हुने सम्भावना त्यसभन्दा कम समय गर्नेको भन्दा ११.७ प्रतिशत कम रहने अध्ययनले देखाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।