ताजा अपडेट »

‘जारी निषेधाज्ञा अझै कडा गरौं, असारदेखि खोलौं’

सोमबार, २४ जेठ २०७८, १४ : ५८
18 Shares

काठमाडौँ । नेपालमा कोरोनाको दोस्रो लहर देखिएसँगै निषेधाज्ञा जारी भएको डेढ महिना पुग्दै छ । सङ्क्रमणदर अपेक्षित रुपमा नघटेको कारण विनाकाम बाहिर हिड्डुल गर्न कडाइ गरिएको छ । छिमेकी देश भारतको नयाँ दिल्ली लगायत शहरमा कोरोनाको दर ओरालो लागेसँगै निषेधाज्ञा खोल्ने बताइएको छ । यसैबीच नेपालमा निषेधाज्ञा कहिले खुल्छ भन्ने आममानिसको चासो बढेको छ ।

जनस्वास्थ्य विज्ञ र सरोकारवाला निकायहरुले निषेधाज्ञालाई धेरै लामो समयसम्म लैजान नहुने बताएका छन् ।शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा।शेरबहादुर पुन जारी निषेधाज्ञालाई केही हप्ता कडा गर्ने र मापदण्ड अपनाएर खुला गर्नुपर्ने बताए। सरकारले सुरुको चरणमा निषेधाज्ञा लगाउन अलि ढिला र कोरोना परीक्षणदर कमी गरेकोले पनि अपेक्षित नतिजा आउँन नसकेको उनले बताए ।
विगतको समीक्षा गर्दै कोरोना परीक्षण दर बढाउने र जारी निषेधाज्ञालाई केही समय कडाई गरेमा कोरोनाको सङ्क्रमणदर घट्ने उनको विश्वास छ ।

अव कोरोनाको दर विस्तारै ओरोलो लागेकोले आममानिसले पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेमा सङ्क्रमण हवात्तै कमी आउने जनस्वास्थ्य विज्ञ पुन बताए। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा।जिडी ठाकुर पनि जारी निषेधाज्ञालाई कडाइ गर्ने र सङ्क्रमितको सम्पर्कमा आएकाको कन्टयाक टेसिङलाई प्राथमिकताका साथ गरियो भने अवको तीन हप्तामा कोरोना सङ्क्रमणदर हवात्तै तल झर्ने बताए । कोरोनाको सङ्क्रमण आइसकेको पछि त्यसको लहरको समय तीन महिना हुन्छ, बैशाखमा सुरुवातमा नेपालमा दोस्रो लहर सुरु भएको हो, असारको महिना भरमा दोेस्रो लहर हटेर जाने उनको बुझाइ छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नभएमा फेरि ६ महिनापछि तेस्रो लहर आउने खतरा पनि त्यतिकै रहेको जनस्वास्थ्य विज्ञ ठाकुर बताए ।
सहरी क्षेत्रमा विस्तारै सङ्क्रमणदर कमी हुँदै गए पनि ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिदैँ गएकोले त्यहाँका स्थानीय तहले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालनामा काम गर्ने बेला आएको उनको आग्रह छ । कोरोना सङ्क्रमणको दर देखिँदा देखिदै पनि ग्रामीण क्षेत्रमा ९० प्रतिशत मानिसले मास्क प्रयोग नगरेको पाइएको डा.ठाकुर बताए्र । उक्त क्षेत्रमा जनचेतनाको कमी र बिबाह, पूजा लगायतका गतिविधिले सङ्क्रमण फैलिएको उनी बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन पछिल्लो समय निषेधाज्ञा कडा गरिए संगै कोरोना संक्रमणमा कमी आएको बताए । अहिलेको कडाईले चेनब्रेक गर्न सहयोग पु¥याएको बताउँदै उहाँले अझै केही समय कडा गरियो भने कोरोनाको चेनब्रेक हुँने महानगर प्रमुख महर्जन दावी छ । काठमाडौं उपत्यका भित्र ठाउँ–ठाउँमा एन्टीजेनबाट पनि कोरोना परीक्षण भइरहेको र महानगरले कोरोना सङ्क्रमण नियन्त्रण गर्न तीव्रताका साथ लागि परेको बताउनुहुन्छ । पछिल्लो समय कोरोनाका संक्रमतिको संख्या घट्दै जाँदा अस्पतालका बेडहरु पनि खाली हुँदै गएको उनको भनाई छ ।

धेरै समय निषेधाज्ञा गर्दा आममानिसको जनजिविकामा प्रभाव पार्ने भएकोले असारको पहिलो हप्ताबाट निषेधाज्ञा खोल्नुपर्छ भन्ने मान्यता रहेको उनले बताए । औपचारिक रुपमा निषेधाज्ञा खोल्ने विषयमा छलफल गर्ने तयारी समेत गरेको नगरप्रमुख महर्जनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौला पछिल्लो समय कोरोना निषेधाज्ञालाई कडाइ गरे संगै सङ्क्रमणदर घट्दै गएको र आशालाग्दो नतिजा आएको बताए ।

अहिले अस्पतालमा बेड खाली हुँदै गएको, अक्सिजनको कुनै समस्या नरहेको देखिएको पाइएकोले अव कोरोनाको सङ्क्रमणको दर घटदै गएको छ भन्ने पाउन सकिने उनको भनाइ छ । तत्काल निषेज्ञाज्ञा खोल्ने अहिले भन्न नसकिए पनि कोरोना सङ्क्रमणदर हेरेर मिडिया लगायत सरोकारवाला निकायसँग छलफल गरेर असारबाट निषेधाज्ञा खोल्न सक्ने सम्भावना पनि रहेको प्रजिअ निरौला बताए ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई कडाइ गर्ने र सङ्क्रमणदर घटाएर निषेधाज्ञा जतिसक्दो चाँडो खोल्ने गरि आफूहरुले काम गरिरहेको उनको भनाइ छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ ३१ गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।-मुकुन्द गैरे/गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।