ताजा अपडेट »

जात्रै जात्राको ५१ दिन आज

शनिबार, २१ असार २०७६, ११ : ३०
4 Shares

प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ले आज शनिवार ५१ औं दिन मनाउँदैछ। कुनै एउटा हलमा फिल्म जबरजस्ती 'होल्ड' गराएर ५१ दिन पूरा गराउने प्रवृत्तिबाट टाढा रहेर कुनै फिल्मले यस्तो रेकर्ड बनाउँछ भने त्यो नेपाली फिल्म उद्योगका लागि निक्कै सुखद् विषय हो। गएको जेठ ३ गतेदेखि प्रदर्शनमा आएको फिल्म दर्शकले राम्रोसँग रुचाए। र, यो अझै ७ वटा हलमा प्रदर्शनरत छ। नेपालमा मात्रै नभएर फिल्मको अस्ट्रेलियामा समेत ग्राण्ड प्रिमियर गरिएको थियो।

फिल्ममा सुनको मोह र त्यसको लागि भएको भागदौडलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ। १ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण भएको जात्रै जात्राले आफ्नो लगानी सजिलै सुरक्षित गरिसकेको छ। जात्रै जात्रासँग प्रदर्शनमा आएको सलमान खान अभिनित फिल्म ‘भारत’को क्रेज ठूलो भए पनि जात्रै जात्रालाई हल्लाउन सकेन। सलमान स्टारर फिल्मले केही दिन व्यापारमा प्रभाव नपारेको होइन, तर बलिउड फिल्मलाई रिजेक्ट गर्दै नेपाली दर्शकले जात्रै जात्रालाई साथ दिए। बलिउड फिल्मकै प्रभावले पहिलो साता अपेक्षाअनुसार कमाइ भने गर्न सकेको थिएन यो फिल्मले। तर, जात्रै जात्रा लामो रेसको घोडा सावित बन्न पुग्यो।

फिल्ममा वर्षा राउत र विपिन कार्की मुख्य भूमिकामा छन्। वर्षा र विपिनसँगै रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, राजाराम पौडेल लगायतले अभिनय गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।