ताजा अपडेट »

हल्लाको भरमा आइफा अवार्डको रोक्नु गलत : मन्त्री बाँस्कोटा

विहीबार, १९ असार २०७६, १८ : ५८
8 Shares

असार १९,
काठमाण्डौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले होहल्लाको भरमा संसदीय समितिले आइफा अवार्ड रोक्न निर्देशन दिनु गलत भएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

विहिबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कार्यक्रमका लागि सैद्धान्तिक स्वीकृति दिनुलाई अहिल्यै पैसा दिइहाल्न लागेको भनेर प्रचार गर्नु अनुपयुक्त भएको जिकिर गरे । ‘सैद्धान्तिक स्वीकृति भनेको त छलफल गर्न तयार छौँ भन्ने बुझ्नु पर्ने हो’ उनले अघि भने ‘सरकार कार्यक्रमको मोडलको बारेमा, त्यसबाट हुने लाभ वा हानीका बारेमा छलफल गर्न तयार भएर कार्यक्रमका लागि सैद्धान्तिक स्वीकृति दिएको भए पनि अनावश्यक हल्ला फैलाउने काम भयो ।’ सरकारले बलिउड चलचित्रको अवार्ड (आइफा) कार्यक्रम गर्न दिएको सैद्धान्तिक सहमतिलाई अनावश्यक उचालेर के-के नै भइहाल्ने जसरी निर्देशन दिनु उचित नभएको उल्लेख गरे ।

संसदीय समितिले विषयवस्तुको गहिराइमा पुगेर मात्रै निर्देशन दिनुपर्नेमा होहल्लामै निर्देशन दिने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको थियो । ‘आइफाको के भाथ्यो र सरकारले सैद्धान्तिक सहमति दिएको थियो,’ उनले भने, ‘संसदीय समितिले दिने निर्देशन विषयको गहिराइमा गएर दिनु पर्छ । होहल्लामा यतिकै भाषा जे पायो त्यही प्रयोग गरेर दिनु चै त्यति राम्रो होइन ।’ आकाशै खसे जस्तो, पहाडै धसिए जस्तो गरेर समितिको निर्णय आउनु उचित नभएको उनले बताए, ‘संसदीय समितिले हतार हतार कुनै निष्कर्षमा पुगेर आकाशै खसे जस्तो पहाडै धसिए जस्तो गरेर निर्देशन दिनु उचित होइन ।

उनले भने, ‘केही दिनअघि राष्ट्रघाति भयो भन्ने हल्ला गर्ने मिडियाहरु अहिले फेरि राम्रो पनि हुँदै रैछ भन्दै लेख्न लागेका छन् । फेरि हिजो हेर्दा नाफा पनि हुँदो रैछ । राम्रो पनि हुँदो रैछ भन्ने गरि आएको छ ।’ मिडिया बढी लहलहैमा लाग्दा अनावश्यक हल्ला फैलिएको मन्त्री बाँस्कोटाको दाबी छ । ‘हामी बढ्ता लहलहैमा चल्छौँ । सरकारले यसमा पैसा दिने भनिसकेको थिएन’, उनले भने, ‘प्रस्ताव त आउन सक्छन नि । मोडेलहरु टुग्याउनु पर्ने हुन्छ ।’ प्रधानमन्त्री स्वंयले पनि घाटाको व्यापार गरिन्न भन्नुभएकाले देशलाई घाटा हुने कुनै पनि काम नगर्ने पनि उनले स्पष्ट पारे ।

सुटिङका लागि डेस्टिनेशन नेपाल भनेर संसदले कार्यक्रम नै पारित गरिसकेको स्मरण गर्दै उनले हतार र हल्लै हल्लामा लागेर नबहकिन समितिहरुलाई सचेत पनि गराए । ‘हामी एकातिर सुटिङका लागि डेस्टिनेशन नेपाल भनेर भनिरहेका छौँ । यही मन्त्रालयले पेश गरेर संसदले पारित गरेकै कार्यक्रम हो’, उनले भने,’ यो त नीति तथा कार्यक्रममा बाचन गरिएकै छ । ताली बजाएर पास गरिएकै हो नि ।’ उनले नेपालमा हलिउड र बलिउड जो आए पनि स्वागत गर्नु पर्ने भन्दै त्यसका लागि छलफल नै हुन नदिने गरी वातावरण बनाउनु उचित नभएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।