ताजा अपडेट »

बुटवलका ‘टोल-टोलमा’ निःशुल्क कोरोना परीक्षण

सोमबार, १७ जेठ २०७८, २० : १९

बुटवल । बुटवलमा आजदेखि टोल–टोलमा कोभिडको निःशुल्क परीक्षण सुरु भएको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको छ । हालसम्म ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ ।बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण ञहस्टस्पटझ क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो ।

सोमबारदेखि सुरु भएको परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ । महामारी विरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदाय स्तरमा व्यापक परीक्षण गरिएको बताउँदै प्रमुख शिवराज सुवेदीले स्वास्थ्य मापदण्ड र स्वनियममा बस्न आग्रह गरेका छन् । स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए।

उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् । जनस्वास्थ्यको संवेदनशीलता र महामारी विरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख सुवेदीले बताए । मनोबल उच्च राख्न उनले आग्रह गरे । बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गरिएको छ भने योगा र ध्यान सिकाइएको छ । वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिनहरु र जरुरी परेकालाई अक्सिजन सिलिन्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेका छन् । निःशुल्क परीक्षण आगामी २१ गतेसम्म हुने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।