ताजा अपडेट »

मकालु हिमालबाट सङ्कलित फोहर प्रशोधनका लागि हस्तान्तरण

सोमबार, १७ जेठ २०७८, १४ : २५
4 Shares

काठमाडौँ। सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहर हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार ८८२ केजी फोहोर हस्तान्तरण गरिएको हो । हिमालबाट सङ्कलन गरिएको छ हजार ६०७ केजी फोहोरमध्ये सड्ने-कुहिने एक हजार ७२५ केजी मकालु गाउँपालिकालाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमाल सफाइमा खटिएको सैनिक टोलीलाई दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकामा प्रशंसा गर्दै बधाई ज्ञापन गरे ।

विश्व वन्यजन्तु कोष नेपालस्थित कार्यालयका निर्देशक डा घनश्याम गुरुङ्ग र इसिमोडका प्रतिनिधि सन्तोष पाठकले कोरोना सङ्क्रमण महामारीको समयमा पनि हिमाल सफाइजस्तो जोखिमपूर्ण जिम्मेवारी लक्ष्य र योजनाअनुरुप नै सम्पन्न गर्नु गौरवको विषय भएको जनाउँदै अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे ।सफा हिमाल अभियान २०२१ अन्तर्गत छ वटा हिमालबाट २७ हजार ६७१ केजी फोहोर सङ्कलन गरिएको जानकारी दिइयो । सङ्कलित फोहरमध्ये १७ हजार ८७७ केजी फोहोर प्रशोधन तथा व्यवस्थापनको लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो ।

रासस
लेखकको बारेमा
रासस