ताजा अपडेट »

साढे ४ लाख लुटियाे, घटनाको अनुसन्धान जारी

मंगलबार, १७ असार २०७६, १८ : ४७
8 Shares

असार १७,
बुटवल । रुपन्देहीको गैडहवामा अज्ञात समूहले हतियार देखाएर ४ लाख ६३ हजार लुटेर लगेका छन् ।

गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल सरसफाई समितिको उक्त रकम लिएर आउदै गरेका कर्मचारी तोले पासीको साथमा रहेकाे रकम उनीहरुले लुटेर लगेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्म भण्डारीका अनुसार लुटेराहरुले हतियार देखाएर पासीको साथमा भएको नगद रकम सहित मोवाईल र झोला पनि लुटेका छन् ।

ताल सरसफाइ समितिको रकम लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर सु १ ह ३३७ नम्बरको टेम्पोमा आउदै गरेका पासी गैडहवा गाउपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार गरेको पासीलाई उदृत गर्दै स्थानिय सन्दिप गुप्ताले बताए ।

लुटेराहरूको गोली प्रहारबाट टेम्पोको टायर पन्चर भएको बताईए पनि प्रहरीले भने गोली लागेको जस्तो नदेखिएको बताएको छ । घटनामा कुनै मानवीय क्षति समेत नभएको बताइएको छ । टेम्पोमा अन्य यात्रुहरू समेत सवार रहेको गुप्ताले बताए । घटना रहस्यमय भएको भन्दै घटनास्थलमा थप अनुसन्धानका लागि प्रहरी पुगेको पनि प्रहरी प्रवक्ता भण्डारीको भनाई रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।