अमिल्दो रहर
पुस्ता बदलिँदा पुस्तौनी खाडल बढ्छ ।
यो स्वाभाविक विकास हो । ‘जन्मदै तीन पात’ भनेको पनि त्यही हो । त्यो
खाडललाई आधुनिक प्रविधिले बढायो । परम्परागत पेसा बदल्ने अभिभावकले बढायो ।
अभिभावकले स्वाभाविक विकास त पचायो । पेसा बदलिँदा बनेको खाडल भने पचाउन
सकेन । “हामीले जस्तो आदरभाव जानेनन् हाम्रा सन्ततिले” भनेको त्यही हो ।
प्रविधिले ल्याएको खाडलले त कोकोहोलो नै मच्चायो । “भनेकै मान्दैनन्,
सम्पर्कमै बस्तैनन्, कि टीभीमा, कि मोबाइल, कि कम्प्युटरमा रमाउँछन” भनेको
त्यसैले हो । यसको अर्थ हो विद्यार्थी र अभिभावकका रहर फरक छन् । त्यो फरक
बुझ्ने, बुझाउने तागत हामीसँग छैन । गुगल म्याप हेरेर स्वदेश र विदेशका
स्थान चिन्ने अहिलेका पुस्ता हुन् । अनुभवीका ज्ञान सुन्ने पहिलेका पुस्ता
हुन् । यसले बुझाउँछ कि नयाँ पुस्ताले प्रविधिलाई पत्यायो । हामीले
अनुभवीलाई पत्यायौँ । अनुभवलाई पत्यायौँ । आफ्नै अपेक्षालाई पत्यायौँ । यही
कारणले गर्दा विद्यार्थी र अभिभावकबीच अमिल्दो रहर छ । शिक्षकले त्यसलाई
पाट्न सकेको छैन । अर्थात् ऊ पनि अमिल्दो रहरकै एउटा पात्र हो । ‘योजक’
बन्न नसकेको पात्र । त्यसैले कक्षा १० पछि के पढ्ने र के पढाउने भन्ने कुरा
भन्ने कोही छैनौँ । त्यसैले बजार निर्णायक बन्दै छ । प्रविधि निर्णायक
बन्दैछ । साथीहरू निर्णायक बन्दैछन् । पत्याउने विद्यार्थीहरू फस्दैछन् ।
परीक्षण गर्नेहरू चाहिँ ठीक ठाउँमा पुग्दैछन् ।
बाध्यताको निर्णय
हाम्रो संस्कार संरक्षणवादी छ ।
यो संस्कारले पढुन्जेल पाल्छ । बिहेसम्मको जिम्मेवारी लिन्छ । विपन्न तथा
रहरेहरू अपवाद हुन् । यसको अर्थ हो हाम्रो संस्कारले हामीलाई सम्झौतामा
बाँच्न सिकायो । विदेशी दाता र साहुसँगको सम्झौता जस्तो । लगानी गर्ने
अभिभावक । लगानी स्वीकार्ने विद्यार्थी । यो दाताभावले गर्दा अभिभावक
आक्रामक छ । हामीले भनेको पढ्नैपर्छ भन्ने मूढाग्रह राख्छ । मनोवैज्ञानिक
क्षतिपूर्तिका रूपमा । लगानीकर्ताको मानसिकताका रूपमा । अभिभावकत्व ग्रहण
गर्दाको बढत्वको रूपमा । विद्यार्थी पनि त्यस्तै छन् । पुस्तौनी खाडल
बोकेकाहरू । आफू र अभिभावकबीच खाडल छ भन्ने जान्नेहरू । खाडल पाट्न
नजान्नेहरू । नसिकाइएकाहरू । अभिभावकको पनि त्यही हालत हो । सन्ततिका
खाडलले कुरा भन्न जान्ने । खाडल पाट्ने तरिका नखोज्ने । यसले गर्दा दुवैथरि
बाध्यतामा बाँचे । अभिभावकले भनेअनुसार पढ्नुपर्ने बाध्यता । छोराछोरीले
भनेको मान्नुपर्ने बाध्यता । विदेशिन खोजे रकम दिनुपर्ने बाध्यता ।
स्वदेशमै बस्न खोजे अभिभावकले भनेकै विषय पढ्नुपर्ने बाध्यता । भनेकै
स्कुलमा पढ्नुपर्ने काध्यता ।
शिक्षकप्रति विश्वास
‘गुरु ब्रह्मा गुरु विष्णु’
पढेको त्यही हो । पढाएको त्यही हो । यसले शिक्षकलाई गुरु बनायो । पुर्खाले
तिनलाई गुरु मान्दैनथे । भूलवश स्वीकारेको गुरुलाई विद्यार्थीले पत्यायो ।
अमेरिकी तथा क्यानेडियनले कोलम्बसको भूललाई बोकेजस्तो । त्यहाँका
आदिवासीलाई कोलम्बसले इन्डियन भनिदिए । हर कुरामा प्रमाण खोज्ने गोराले पनि
कोलम्बसको भूल बोके । त्यसैले अझै त्यहाँका गोराहरूले आदिवासीलाई
‘इन्डियन’ नै भन्ने गरेका छन् । त्यस्तै भूलमा गुरु मानेका शिक्षकलाई कक्षा
१० मा पसेर चोखिएकाहरूले पत्याए । ती शिक्षकले भनिदिए, “ए ग्रेड आए यो
पढ्नू, डी आए यो पढ्नू” । विद्यार्थीलाई यो चिन्तन ढुङ्गाको अक्षर बन्छ ।
बनाइन्छ । यही क्रममा विद्यार्थीले शिक्षकलाई विश्वास गर्न जान्यो । त्यही
विश्वासले गर्दा ब्रिज क्लास चलेका छन् । ट्युसन केन्द्र बढेका छन् । ११÷१२
कक्षा पढाउने शिक्षालयहरू चलेका छन् । विद्यार्थी त्यस्तै स्कुलमा पढ्छन् ।
विद्यार्थीले गर्ने के ?
अक्षराङ्कनले विषय तोक्ने
दिन गए । घोकेर अङ्क बढाउने प्रणालीले गर्दा । चोरेर तथा चोराएर
विद्यार्थीले यो अङ्क ल्याए भन्ने संस्कारले गर्दा । वस्तुगत उत्तर लिने
प्रश्नपत्र बनाउने लहडले गर्दा । यसको अर्थ हो अबका विद्यार्थीलाई रुचिका
विषय पढ्न दिनुपर्छ । भएका विषयले मात्रै पुग्दैन । क्रेडिट कोर्स दिन
सकिँदैन भने अडिट कोर्स दिए हुन्छ । त्यो पनि नभए सामूहिक कोर्स वा
व्यक्तिगत कोर्स बनाउन लगाए हुन्छ । उनैले कोर्स बनाउँछन् । उनैले पढ्छन् ।
स्कुलले जाँच लिए हुन्छ । ग्रेडिङ गरिदिए हुन्छ । २०७४ को उच्चस्तरीय
शिक्षा आयोगले यो कुरा लेखेको छ । पश्चिमी दुनियाँमा पनि यो प्रचलन छ ।
दोस्रो उपाय हो, टोफलजस्तै जाँच लिने । आपूmले आफ्नो क्षमता जाँच्ने
टोफलजस्तो जाँच । अरूबाट जाँचिने टोफलजस्तो जाँच । यसकै अङ्कको आधारमा
भर्ना पाउने प्रबन्ध । यसो गर्ने हो भने विद्यालयले निश्चित आधार पाउँछ ।
यो आधार हुने हो भने पश्चिमी ढङ्गको गुणवत्ताको तरिका कार्यान्वयन हुन्छ ।
विद्यार्थीले अक्षराङ्कको कुरामा भन्दा क्षमताङ्कमा विश्वास गर्न सिक्छन् ।
नेपालमै टोफलको जस्तो विश्वस्त प्रणालीको सुरुआत हुन्छ । यो तरिका पनि
२०७४ को शिक्षा आयोगले सुझाएको थियो तर २०७५ को उच्चस्तरीय राष्ट्रिय
शिक्षा आयोगले भने यी दुवै विधिलाई स्वीकारेन । क्रान्तिकारी रूपान्तरण
नहुने देखेर होला । राष्ट्रिय परीक्षा बोर्डले यसलाई बोकेन । प्रणाली बने त
सिफारिसमा काम हुन्न होला भनेर । हिसानले पनि बुझेन । अहिलेको खेती
बिग्रन्छ कि भनेर तर स्वचालित समाधान त्यही थियो ।
‘घाँटी हेरी हाड
निल्ने’ रैथाने चिन्तन हो । यो चिन्तनले भन्छ– खल्ती हेर । बाबुको खल्ती ।
आमाको खल्ती । मन्कारीको खल्ती । यी खल्तीमा दवावी बल छ । त्यहाँ
विद्यार्थीले सम्झौता गर्नुपर्छ । खल्ती दातासँगको सम्झौता । यसको अर्थ हो–
खल्ती दाता र आफ्नो रुचिबीचको सम्झौता । खल्तीदाताले चाहेको विषय पढेर
प्रमाणपत्र लिने । एकसाथ आफ्नो रहरको विषय पढेर जीवन चलाउने ।
तेस्रो
उपाय हो– जे पाइन्छ त्यही पढ्ने । त्यो पढाइले प्रमाणपत्र सुनिश्चित गर्छ
तर जीवन केमा बन्छ र बनाउन सकिन्छ भन्ने कुरा र प्रमाणपत्रको नातै नखोज्ने ।
यसले चाणक्यको सन्देश सम्झाउँछ । हामीसँग पेट छ । यो पढाइले के गरेर पेट
पाल्ने ? कुन सीप थपेर पेट पाल्ने ? कुन योग्यता थपेर पेट पाल्ने ? कुन
सक्षमता थपेर पेट पाल्ने ? यी प्रश्नहरूको उत्तर खोज्दा पेट भर्ने अक्किल
आउँछ । हामीसँग मन छ । त्यो मनलाई आफ्नो पढाइमा के थपघट गरेर शान्त बनाउने ?
हामीसँग ऊर्जा (आत्मा) छ । आफ्नो पढाइमा के जोडजाड गरेर ब्रह्म ऊर्जासँग
व्यक्तिगत ऊर्जालाई आबद्ध गरी सधैँ पुलकित हुने ? हामी समाजमा बस्छौँ ।
त्यही समाजले हामीलाई सुख दुःखमा साथ दिएको छ । हाम्रो पढाइमा के थपथाप
गरेर समाजको ऋण तिर्ने ? यो बुद्धि हाम्रा युवामा भर्ने हो भने समाधान
त्यहीँ निस्कन्छ । के पढ्ने र कहाँ पढ्ने भन्ने सङ्कथन नै हराउँछ ।
चौथो
उपाय हो– वेभसाइटमा सबै कुराको जानकारी राख्ने । ‘सेलुलर डाटा’ खोलेर भए
पनि जोसुकैले जहाँकहीँ हेर्न पाउने प्रबन्ध गर्ने । यो कामले हाम्रा
विद्यार्थीलाई ११ कक्षामा सहज प्रवेशको ढोका खोल्छ । विषय छान्नमा । घाँटी
हेरेर स्कुल छान्नमा । रहरको विषय पढ्नमा । अभिभावकलाई फकाउनमा । आफ्ना तथा
अभिभावकका रहर मिलाउने आधार फेला पार्नमा ।
पाँचौँ उपाय हो–
शिक्षकहरूमार्फत विद्यार्थी तथा अभिभावकलाई विषय छनोटका आधारबारे सुसूचित
गर्नु । यो कार्यले राष्ट्रिय मानक खोज्छ । त्यही मानकको आधारमा
विद्यार्थीले विषय रोज्छ । अभिभावकले आफ्नो रोजाइसँग आर्थिक हैसियत मिलाउन
पाउँछ । यसो गर्दा विद्यार्थीले बहुविकल्प पाउँछ । यो नभए त्यो । त्यो नभए
यो । निजी व्यवस्थापन तथा लगानीका विद्यालयको एकलौटीपना हराउँछ ।
विद्यार्थी ठगिने अवस्थाको अन्त्य हुन्छ ।
प्रश्न के हो त ?
चिन्तन प्रश्न होइन । संरचना पनि प्रश्न होइन । कार्यान्वयन प्रश्न हो । विस्तार प्रश्न हो । जनशक्ति पनि प्रश्न होइन । त्यसको उपयोग गर्ने कुरा प्रश्न हो । कसले उपयोग गर्ने भन्ने प्रश्न हो । अभ्यस्ततामै उत्तर खोज्ने अहिलेको सोच प्रश्न हो । सहज क्षेत्रमा मात्रै समाधान खोज्ने बानी प्रश्न हो । अर्थात् अभिभावकधधधले भनेको ठीकै छ भन्ने बानी । शिक्षकले भनेको एकदम ठीक हो भन्ने बानी । विद्यार्थी आफैँले भनेको कुरा हुनैपर्छ भन्ने बानी । साथीले भनेको मान्नेपर्छ भन्ने बानी । यस्ता बानीले हामीलाई समस्यामा फसाएका छन् । फसाउँदै छन् । यी प्रश्नमा घोत्लिने हो भने उत्तर हामीसँगै छ । उत्तर हो संवाद । खोजी । वैकल्पिक संरचना । दबाब । संवाद गर्नाले विद्यार्थीले अभिभावकसँग रकम पाउँछ । सहयोग पाउँछ । शिक्षकसँगको जानकारी पाउँछ । पूर्व विद्यार्थीसँगको अनुभव पाउँछ । खोजीले नवीन शैक्षिक तथा आर्थिक प्रबन्ध पाउँछ । वैकल्पिक संरचनाले कम ग्रेडवालाले पनि जहाँ अनि जसरी बसे पनि पढ्ने तथा गरिखाने बाटो पाउँछ । दबाबले नयाँ नयाँ विकल्प पाउँछ । प्रश्न हो– एउटै कुरामा भिड्ने कि बहु उपायको एकसाथ उपयोग गर्ने ? निर्णय हाम्रै हातमा छ ।
-गोर्खापत्र अनलाईनबाट
प्रतिक्रिया