ताजा अपडेट »

मायादेवी च्यारेटिबल फाउण्डेशनद्वारा भिम अस्पताललाई नगदसहित स्वास्थ्य सामग्री प्रदान

आइतबार, ०९ जेठ २०७८, १८ : ५०
4 Shares

भैरहवा । भैरहवा क्षेत्रलाई केन्द्र बनाइ बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आईरहेको मायादेवी च्यारेटिबल फाउण्डेशनले भिम अस्पतालमा नगद सहित स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

फाउण्डेशनले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि ५१ हजार रुपैयाँ र ५४ हजार ४ सय ६० रुपैयाँ बराबरको ४० थान मेडिकल बेडसिट र ३० थान बिरामीको लागि मेडिकल गाउन सहयोग गरेको हो । भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको अभियानलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताए ।

उनले कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष रौनियारले आइतबार ५१ हजार रुपैयाँको चेक र स्वास्थ्य सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शकुन्तला गुप्तालाई हस्तान्तरण गरेको हुन् ।

सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले महामारीको बेला मायादेवी च्यारिटेबल फाउण्डेशनको सहयोगी हातले अस्पताललाई धेरै उत्साहित बनाएको बताए । ‘अक्सिजन प्लान्ट स्थापना हुनुपर्ने जनसमुदायको मागलाई पत्रकार, समाजसेवी, उद्योगी, व्यवसायीले थप उजागर गरिदिनुभएको छ, ’भण्डारीले भने । उनले विकास समितिको पहिलो बैठकले अक्सिजन प्लान्ट स्थापना, आइसीयू र भेन्टिलेटर थप्ने निर्णय गरेको बताए ।

तत्काल कोरोना संक्रमित विरामीलाई अक्सिजनको उपलब्धता गराउने कार्यमा अस्पताल लागेको बताए । विरामीको उपचारमा चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मी दिनरात लागिपरेको उनको भनाइ छ । हस्तान्तरण कार्यक्रममा भीम अस्पतालका कोभिड फोकलपर्सन डाक्टर आरिफ हुसेन, मायादेवी च्यारिटेबल फाउण्डेशनका सदस्य विरेन्द्र ज्ञवाली, प्रवेश कुमार कर्ण लगायतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।