ताजा अपडेट »

बुटवल उपमहानगरद्वारा एक महिनामा ५ हजार बढीलाई कोभिड-१९ विरुद्धको दोस्रो खोप

आइतबार, ०९ जेठ २०७८, १८ : ०९
4 Shares

बुटवल । कोरोना महामारीको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले एक महिनाको अवधिमा ५ हजार बढीलाई कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप प्रदान गरेको छ । उपमहनगरले वैशाख महिनाभित्र मात्रै ५ हजार ७३० जनालाई कोभिड–१९ विरुद्धको (दोस्रो डोज) खोप प्रदान गरेको हो ।

जनतालाई सुरक्षित राख्न भन्दै बुटवल उपमहानगर पालिकाले घरदैलोसहित आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य जानकारी, अक्सिजन बैंक सेवा, आइसोलेशन सेवा तथा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । कोरोनाको दोस्रो लहर सुरुभएदेखि वैशाख महिनाभित्र मात्रै उपमहानगरले १ हजार ५३७ जनालाई निःशुल्क रुपमा आर्युवेदिक औषधिसहित स्वास्थ्य जानकारी, १७५ जनालाई निःशुल्क एम्बुलेन्स सेवा तथा २९८ जनालाई अक्सिजन सेवा उपलब्ध गराएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराए ।

बुटवल उपमहानगरमा हालसम्म ९ हजार ६१९ जना कोरोना संक्रमित भएका मध्ये ७ हजार ७३४ जना उपचारपछि निको भएका छन् भने १ हजार ७५८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको दाेस्रो लहरमा मात्रै बुटवलका ७२ जनाले ज्यान गुमाएका छन् । यसैगरी कोरोनामा ज्यान गुमाउनले कूल संख्या १२७ पुगेको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका रुपन्देहीका स्थानीय निकायहरु मध्य पहिलोमा रहेको बुटवल उपमहानगरमा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको प्रवक्ता रेग्मीले जानकारी गराए ।

कोभिड विरुद्धको अभियान स्वरुप उपमहानगरले स्वास्थ्यकर्मीहरुको समूहसहित घरदैलो कार्यक्रम तथा सचेना, होटल आइसोलेशन तथा होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई आवश्यकता अनुसार चिकित्सकीय परामर्श सेवा, २४ सै घण्टा सेवा दिने गरी २ वटा एम्बुलेन्स परिचालन तथा मृतक संक्रमितहरुको शव व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको छ । उपमहानगरले वैशाख महिनामा मात्रै १ हजार ११५ जनाको निःशुल्क पीसीआर परीक्षण गरेको थियो । परीक्षण गरिएका मध्ये हालसम्म ८७७ जनाको रिपोर्ट आएको र ती मध्ये ५११ जनाको पोजेटिभ भेटिएको बुटवल उपमहानगरका सूचना अधिकारी मत्रिमणी खनालले जानकारी गराए । अन्य २४८ जनाको मध्ये रिपोर्ट आउन बाँकी रहेको छ । संकलन गरिएका स्बाव परीक्षणका लागि भैरहवाको गहुँबारीमा सञ्चालित प्रादेशिक प्रयोग शाला पठाइएको भए पनि ल्यावमा आएको प्राविधि समस्याका कारण रिपोर्ट आउन ढिला भएको खनालले जानकारी गराए । ल्याब पुनः सञ्चालनमा आएकोहुँदा केही दिनमै बाँकी रहेका स्बावको रिपोर्ट पनि आउने उनले बताए ।

गत वर्षको जस्तै उपमहानगरले बुटवल–११ देविनगर स्थिती एन्फा एकेडेमीमा आइसोलेशन स्थापना गरेको छ । आइसोलेशनबाट ४० जनाले सेवा लिएका छन् । सेवा लिने मध्ये ११ जना निको भएर घर फर्किएका छन् भने १८ जनालाई थप उपचारका लागि अन्यत्र बठाइएको छ । यसैगरी ११ जना संक्रमित आइसोलेशन सेन्टरमै सेवा लिइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।