ताजा अपडेट »

निषेधाज्ञा लागू नगर्ने दुई जिल्ला जसले स्वअनुशासनमा जोड दिए

शनिबार, ०८ जेठ २०७८, १८ : १२
6 Shares

काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा आजसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै सङ्क्रमण तोड्ने प्रयास गरिरहेका छन् । त्यसबाट केही सकारात्मक परिणाम देखिए पनि अझै सङ्क्रमणदर नियन्त्रणमा आशातित उपलब्धि हुन सकिरहेको छैन ।

अहिले पनि दैनिक झण्डै आठ हजारको हाराहारीमा सङ्क्रमित फेला परिरहेका छन् । निको हुने दरमा केही वृद्धि भइरहे पनि मृत्युदर अझै घट्न सकिरहेको छैन । मुलुकमा दैनिक १५० भन्दा माथि नै मानिसको ज्यान गइरहेको छ । कोरोनाको दोस्रो लहरको फैलँदो क्रमसँगै त्यसलाई नियन्त्रणका लागि निषेधको आदेश जारी गर्ने क्रम शुरु भएको एक महिना नाघ्यो । मुलुकका ७७ मध्ये दुई जिल्लाले अझै आदेश जारी नगरी नियन्त्रणको प्रयास गरिरहेका छन् । आदेश जारी नगरी नियन्त्रणको काम गरिरहेको जिल्ला तेह्रथुमले पनि शनिबार बिहानदेखि यही जेठ १४ गते राति १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा लगाइसकेको छ ।

अब आदेश जारी नगर्ने जिल्लामा ‘खोटाङ र मनाङ’ छन् । ति जिल्लाले पनि सङ्क्रमण नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । उक्त जिल्लाका अधिकारीहरूले स्वअनुशासन र स्वआइसोलेशनलाई जोड दिएर नियन्त्रणको प्रयास जारी राखेको जनाएका छन् । दोस्रो लहरको कोरोनासँग वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्न शुरु गरिएको थियो । वैशाख १६ गतेपछि यसरी आदेश जारी गर्ने क्रम बढेको थियो ।

खोटाङको यस्तो छ नियन्त्रण प्रयास

जिल्ला प्रशासन कार्यालय खोटाङले वैशाख ९ गते सूचना जारी गरेपछि अहिलेसम्म कोभिडसम्बन्धिका सूचना भने सार्वजनिक गरेको छैन । उक्त सूचनामा सरकारले दिएको निर्देशन पालना गर्दै भिडभाड हुन नदिने र आवश्यक स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न भनिएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्वअनुशासनलाई कडाइका साथ लागू गरिरहेको बताए । “निषेधाज्ञा जारी गर्नुभन्दा स्वनियमन र अनुशासन नै बढी प्रभावकारी देखियो, त्यसैले सबै स्थानीय तह सुरक्षा निकाय तथा सङ्घसंस्थाको समन्वयमा रोकावटको काम भइरहेको छ”, प्रजिअ शर्माले रासससँगको कुराकानीमा भने। उनले परिस्थिति हेरेर अगाडिका कदम चाल्दै जाने समेत जानकारी दिए । खोटाङमा हालसम्म ३३२ सङ्क्रमित पुगेका छन् । त्यसमध्ये २४ निको भएर घर फर्किए भने अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । हाल अस्पतालमा २१ जना मात्रै उपचारमा रहेको र अरु सबै होम आइसोलेशनमा छन् ।

आदेश जारी नगरे पनि कडा नियम लगाएर परिपालनमा जोड दिइएको छ । “दुई हप्तादेखि नै मठमन्दिर, पूजापाठ, भिडभाड हुने क्षेत्र हामीले सबै रोकेका छौँ, पसल ७र९ मात्रै खोल्न दिइएको छ, यातायात बन्द नै छ, अनुमतिमा मात्रै हिँडडुल तथा यातायात चल्छन्”, शर्माले थपे, “हामीले निषेधाज्ञ भने जारी गरेका छैनौँ ।” उनको भनाइलाई आधार मान्दा निषेधाज्ञा घोषणा नगरिए पनि प्रकृति भने उस्तैउस्तै देखिन्छ ।

खोटाङमा कोभिडका बिरामी राख्न मिल्ने २२६ शय्या रहेको छ । अक्सिजन ८८ वटा तयारी अवस्थामा राखिएको छ । दश स्थानीय तहसहित जिल्ला अस्पतालमा गरेर त्यहाँ ११ आइसोलेशन सेन्टर स्थापना गरिएको तर जिल्लामा भने एउटा मात्रै भेन्टिलेटर रहँदा ममस्या हुने हो की भन्ने आशङ्का छ ।

मनाङ् के गर्दै छ?

अर्को निषेधाज्ञा जारी नगर्ने मनाङले पनि स्वअनुशासन र स्वआइसोलेशनलाई जोड दिँदै नियन्त्रण प्रयास जारी राखेको छ । यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने भन्छन्, “निशेषाज्ञा जारी गर्नु मात्रै ठूलो कुरा होइन, व्यवस्थापन महत्वपूर्ण रहेछ, ओहोरदोहोर, पर्यटक आवागमन रोक्ने काम भएको छ, स्वअनुशासन र स्वआइसोलेशनलाई हामीले जोड दिएका छौँ ।” उसले ‘स्वआइसोलेशनमा बसौँ, कोभिडविरुद्ध संयुक्त लडाईं लडौँ’ भन्ने नारा नै तय गरेर अभियान चलाएको छ ।

प्रजिअ लामिछानेका अनुसार जिल्लामा हालसम्म कुल ६३ जना सङ्क्रमित फेला परेका छन् । त्यसमध्य १४ जना निको भएर फर्किसकेका छन् । अहिलेसम्म मानवीय क्षति भएको छैन । यहाँका चार गाउँपालिकाको चार कोभिड अस्पतालमा ४७ शय्या छ । कूल अक्सिजन सिलिण्डर २९ वटा रहेको उहाँले जानकारी दिए । अहिले गाउँगाउँमा परीक्षणको दायर बढाउँदै सङ्क्रमितको खोजी भइरहेको लामिछानेले बताए । अक्सिजन प्लान्टका लागि रकम आएको र त्यसका लागि सामानहरु खरिद प्रक्रिया शुरु भएको जनाइएको छ ।

गृह मन्त्रालयले यही ५ गते पठाएको पत्रलाई आधार मानेर कोरोना नियन्त्रणका लागि आफूखुशी रकम सङ्कलन नगर्न भन्दै उसले पछिल्लो सूचना जारी गरेको छ । सूचनामा एकद्वार प्रणालीअनुसार सरकारी खातामा रकम उउलब्ध गराउन आग्रह गरिएको छ । त्यसअघि वैशाख २९ गतेको निर्णयअनुसार उक्त जिल्लाले कोरोना महामारीको दोस्रो लहर रोकथाम, तथा नियन्त्रण सम्बन्धीको आदेश–२०७८ बमोजिम जिल्लाका सबै स्थानीय तहमा आइसोलेशन र क्वारेन्टिनको व्यवस्थापन गर्ने र आवश्यकतानुसार थप्दै लैजाने, अत्यावश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनका लागि आवश्यक तयारीका कामहरू गर्न थालिएको छ ।

उक्त सूचनामा स्थानीय तहमा द्रूतप्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा रहने, जिल्ला बाहिरबाट आउने व्यक्तिको हकमा १० दिन क्वारेन्टिनमा बस्ने व्यवस्था स्थानीय तहमार्फत मिलाउने, भिडभाड हुने गतिविधि नगर्ने र विवाह ब्रतबन्धमा १५ जना मात्रै सहभागि हुन पाउने, अत्यावश्यक काम बाहेक घर बाहिर हिड्डुल नगर्न अनुरोध गरिएको छ ।

आदेशपछि यस्तो छ तेह्रथुमको प्रयास

लामो समयसम्म निषेधको आदेश जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको तेह्रथुम जिल्ला अन्ततः निषेधाज्ञा जारी गर्न बाध्य भएको छ । सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले गएरातिदेखि आदशे लागू गरी कोभिड­१९ नियन्त्रणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए । उक्त आदेश १४ गते रातिसम्मका लागि छ । त्यसपछि अवस्था हेरेर पुनःआदेश जारी गरिने छ । उनका अनुसार जिल्लामा कूल २२९ सङ्क्रमितमध्ये ५३ जना निको भएका छन् । दुई जनाको मृत्यु भएको छ भने छ हाल सक्रिय सङ्क्रमित १७४ छन् ।

“पहिलेदेखि नै सचेतना र सावधानी अपनाइएकाले सङ्क्रमणको जालो तोड्न सकिएको छ, विगतदेखि नै स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक काम भएरहेका छन्, छ वटा स्थानीयतहसँग राम्रो समन्वय पनि छ, त्यसैले अहिलेसम्म हामी सफल छौँ”, प्रजिअ भण्डारीले भने । उनका अनुसार जिल्ला अस्पतालमा २८ सहित जिल्लामा ५३ वटा अक्सिजन सिलिण्डर छ । अस्पतालमा १० शय्याको आइसोलेशन सेन्टर छ भने थप १० वेडको बनाउँदै गरिएको छ । जिल्लामा चार अस्पतालमा ४८ सययामा कोभिडका बिरामी राख्न सकिने व्यवस्था मिलाइएको उनले बताए । अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट आएको जनाइएको छ ।

रासस
लेखकको बारेमा
रासस