June 23, 2021, Wednesday
९ असार २०७८, बुधबार

लुम्बिनी र प्रदेश नम्बर २ मा कोभिड उपचारमा चार समस्या

270

काठमाडौँ । खासगरी भारतसँग जोडिएका सीमा नाका रहेका लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ मा बिरामीको चाप अस्पतालले थेग्नै नसक्ने गरी बढेको स्वास्थ्यकर्मी बताउँछन्।

हाल ती दुई प्रदेशका साझा समस्या के हुन्?

१. शय्या छ अक्सिजन छैन

करिब ६१ हजार सक्रिय सङ्क्रमित रहेको लुम्बिनी प्रदेशमा अहिले मुख्य समस्या अक्सिजन अभाव देखिएको छ। प्रदेश अन्तर्गत विशेष आईसोलेशन अस्पताल बाहेकका निजी अस्पतालहरूले हाल ४३८ जना सङ्क्रमितको उपचार गरिरहे पनि नियमित अक्सिजन आपूर्ति हुन नसक्दा थप बिरामी भर्ना गर्न नसक्ने अस्पतालका अधिकारीहरू बताउँछन्।

हाल १४६ जना सङ्क्रमितको उपचार गरिरहेको र थप बिरामी भर्ना लिन नसक्ने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका सूचना अधिकारी डाक्टर दिनेश श्रेष्ठले बताए। श्रेष्ठले भने, “थप ५५० बिरामीलाई सेवा दिन सक्ने जनशक्ति र शय्या तयारी अवस्थामा छ, तर यो भन्दा बढी बिरामी भर्ना गरे सबैलाई अक्सिजन पुग्दैन।”

प्रदेश २ मा पनि अक्सिजनकै अभाव रहेको छ। प्रदेश २ सरकारको तथ्याङ्क अनुसार दैनिक ५ सयको हाराहारीमा कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि भइरहेको छ। देशकै सबैभन्दा बढी जनघनत्व भएको प्रदेश २ मा सङ्क्रमितहरूको उपचारका लागि हरेक जिल्ला अस्पतालहरूमा व्यवस्था गरिएको छ। तर अक्सिजनको कमी र दक्ष जनशक्तिको अभावमा उपकरण भएर पनि सेवा दिन नसकिएको बताइएको छ।

लुम्बिनी प्रदेशमा हाल भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल नेपालगञ्ज र राप्ती प्रादेशिक अस्पताल दाङ तुलसीपुरद्वारा सञ्चालित बेलझुण्डीको आईसोलेशन अस्पतालमा जम्मा ३५२ जना सङ्क्रमितले उपचार गराइरहेको बताइएको छ। सबै विशेष आईसोलेशन अस्पतालमा मात्र बिरामीको सङ्ख्या थेग्न सक्ने अवस्था नरहेकाले निजी अस्पतालहरूलाई पनि सङ्घ र प्रदेश सरकारबाट निर्देशन दिइसकेको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर पुष्पराज पौडेलले जानकारी दिए।

अक्सिजन अभाव हुन नदिन विभिन्न अक्सिजन कम्पनीलाई क्षमता विस्तार गर्न लगाएको र बिग्रिएका प्लान्टहरूपनि बनाउने काम भइरहेको उनले बताए। “सबैलाई थाहा भएकै कुरा हो तरल अक्सिजन भारतबाट आउने गर्छ”, उनले भने, “कोरोनाभाइरसको महामारीबाट भारत आफै अति प्रभावित भएको अवस्थामा पनि हार गुहार गरेर अन्तर्राष्ट्रिय शक्तिको पहलमा केही मात्रामा आपूर्ति भइरहेको छ।”

२.भार सरकारी अस्पताललाई

सरकारी स्वामित्वको भेरी अस्पतालले शय्या र पर्याप्त अक्सिजन नभए पनि आकस्मिक कक्ष र अस्पताल भवनबाहिर पाल टाँगेर समेत उपचार गरिरहेको छ। भेरी अस्पतालमा बढीमा १४० जना बिरामीलाई मात्र धान्न सक्ने क्षमताको अक्सिजन प्रणाली सञ्चालनमा रहे पनि अहिले दैनिक २ सय ५० भन्दा बढी बिरामीको उपचार गरिरहेको चिकित्सकहरू बताउँछन्।

अस्पतालको अक्सिजन प्रणालीबाट अहिले पर्याप्त मात्रामा अक्सिजन पुर्‍याउन कठिन भइरहेकोले उपचारमा समस्या आएको भेरी अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले बताए। हाल भेरी अस्पतालमा ८२ जना सिकिस्त र एक सय ६० जना मध्यम खालका रहेका छन्। उनले भने, “सिकिस्त बिरामीले मात्र शय्या भरी भराउ भएको हप्तौँ बितिसक्यो, सिकिस्त सबैलाई ‘हाइफ्लो’ अक्सिजन चाहिन्छ तर पुर्‍याउन सकेका छैनौँ।”

अहिले दैनिक रूपमा ४ सयदेखि ४ सय ५० सिलिन्डर अक्सिजन खपत भइरहेको भेरी अस्पतालले जनाएको छ। अस्पतालमा आइपुगेका जटिल बिरामीलाई फिर्ता गर्नुभन्दा बाहिरबाट अक्सिजन खोजेर भए पनि ज्यान बचाउनुपर्ने बाध्यात्मक परिस्थिति भएको अस्पताल प्रशासनले जनाएको छ। करिब एक हप्तादेखि भेरी अस्पतालमा आफ्नो बुवाको उपचार गराईरहेका र आफुलाई पनि सङ्क्रमण भएको बताउने दाङ अमेलियाका गेहेन्द्र केसीले बिरामीलाई २४ सै घण्टा अक्सिजनकै भरमा राखिएको बताए।

“अक्सिजनबाट बाहिर निकाल्ने बित्तिकै ह्वात्तै अक्सिजन घटेको देखाउँछ,” उनले भने, “धेरैले बाहिरबाट अक्सिजन सिलिन्डर ल्याएर उपचार गराइरहेका छन्।” अक्सिजनको मात्रा कम भएर बिरामीलाई अप्ठेरो हुँदा बोलाउँदा समेत समयमा स्वास्थ्यकर्मी नआउने गरेको बिरामी कुरुवाको गुनासो छ।

३.बिरामीका कुरुवा नै ‘नर्स’

“राति दशबजे औषधी खुवाइसकेपछि स्वास्थ्यकर्मी फर्केर आउँदैनन्”, एक जना बिरामीका आफन्तले भने, “अक्सिजन नाप्ने र कम भए आफै लगाउने, सलाइन पानी सकिएमा अर्को बोतल फेर्ने लगायतका काम सबै हामीलाई नै भनेर जान्छन् त्यसै अनुसार गरिरहेका छौँ।”

कोभिड अस्पतालमा आमालाई भर्ना गरेका धनुषा जिल्लाको नगराइन नगरपालिका ५ बस्ने विनय दासले औषधी आफै किन्नु परेको बताए।त्यसैगरी काकाको उपचार गराइरहेका लक्ष्मण यादवले भने, “भेन्टिलेटरमा राख्न पहिलो दिन शुक्रवार आएका डाक्टर फेरि फर्केर आएका छैनन्।”बिरामी र शय्याको सरसफाइ आफै गर्नु पर्ने खाना र औषधीको व्यवस्था पनि आफैले गर्नु पर्ने उनको कथन छ।नर्सले मात्र रोगीलाई हेरेको उनले बताए।

४.चिकित्सकमाथि आक्रमण

ज्यान जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि हुने आक्रमणले मनोबल खसाउने काम नरोकिएको जनकपुरस्थित प्रादेशिक अस्पताल प्रमुख डा. प्रमोदकुमार यादवले बताए।

सिकिस्त रोगीहरूलाई ल्याउँदा अस्पतालको समस्या नै नबुझी भेन्टिलेटरमा राख्न दबाव दिने गरिएको दुखेसो उनले पोखे। भेन्टिलेटरमा उपचारार्थ रहेका बिरामीलाई हटाएर उपचार गर्न नसकिने परिस्थितिमा समेत स्वास्थ्यकर्मीमाथि आक्रमण हुने गरेकाले जनशक्ति व्यवस्थापनमा समस्या आएको उनी बताउँछन्। तर बिरामीका कुरुवाहरूले भने अस्पतालमा शय्या खाली रहे पनि बिरामी भर्ना गर्नै नचाहने आरोप लगाउँछन्।-बिबिसीबाट

पछिल्लो अपडेट