ताजा अपडेट »

मुद्दा फिर्ता नभई सरकारमा नजाने जसपाको अडान

शनिबार, ०१ जेठ २०७८, ०६ : ५७
8 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा ओलीले ‘सरकारमा सहभागी हुन’ प्रस्ताव ठाकुर र महतोलाई गरेका हुन् । सरकारले आफ्ना ‘केही माग पूरा गरेको तर अझ धेरै पूरा गर्न बाँकी रहेकाले मुद्दा सम्बोधनपछि मात्रै सरकारमा सहभागी हुने’ आश्वासन जसपा नेताले दिएका छन् ।

जसपा कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताए । ओलीबाट प्रस्ताव आएको स्वीकार गर्दै उनले अहिलेकै अवस्थामा सहभागी नहुने प्रस्ट पारे ।

केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिइसकेका छन् ।

संविधान संशोधन, मधेस आन्दोलन क्रममा लगाइएका झुठा मुद्दा फिर्ता, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतालगायत मुद्दा जसपाले उठाउँदै आएको छ । केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिइसकेका छन् ।

आफ्ना माग केही पूरा भएको र केही बाँकी रहेको भन्दै ठाकुर–महतो समूह गत २७ वैशाखमा विश्वासको मतका बेला तटस्थ बसेको थियो । तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले ओलीको विरोधमा मतदान गरेका थिए ।

भट्टराई–यादव समूहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग मिलेर सरकार गठन गर्ने गृहकार्य गरेका थिए । तर, ठाकुर र महतोकै कारण उनीहरूको योजना असफल भई ओली नै प्रधानमन्त्री हुन सफल भएका छन् ।

संसदीय दलमा महतो
जसपा संसदीय दल नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी एकताको एक वर्षपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमबीच १० वैशाख २०७७ मा एकीकरण भएर जसपा घोषणा भएको थियो । एकीकरण भए पनि अहिलेसम्म विधान अभाव र नेताबीच सहमति हुन नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

जसपा कार्यकारिणी समिति सदस्य एवं सांसद लक्ष्मणलाल कर्णले दलको नेतामा महतो चयन भएको बताए । बहुमत सांसद बैठकले उनलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

जसपामा ३६ सांसद छन् । २० सांसदको बैठकले महतोलाई नेता चयन गर्ने निर्णय गरेको बताइएको छ । तर, जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव समूहले अहिलेसम्म दलको नेता चयन नभएको जनाएको छ । सो समूहको सांसद बैठकमा सहभागी भएनन् ।

जसपा कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले संसदीय दलको बैठक भएको र नेता चयन भएको झुठो रहेको प्रतिक्रिया दिए । ‘बैठक बसेकै छैन, हामीलाई केही थाहा नै छैन, संसदीय दलको नेता कसरी चयन भयो ?’ उपेन्द्रनिकटका सांसद रामसहायले भने, ‘यो सबै फर्जी काम हो । गलत प्रचार भइरहेको छ ।’

जसपाभित्र दुई समूह छन् । एक समूहको नेतृत्व ठाकुर–महतो अर्को समूहको नेतृत्व भट्टराई–यादवले गरिरहेका छन् । ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग नजिक छन् ।

भट्टराई र यादव प्रधानमन्त्री ओलीको विरोधमा र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर वैकल्पिक सरकार निर्माण अभियानमा सहभागी छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।