ताजा अपडेट »

खानपान एउटा राजनीतिक औजार !

शुक्रबार, ३१ बैशाख २०७८, १६ : ५३
16 Shares

पृथ्वी एकमात्र जीवित ग्रह हो । अन्य ग्रहमा जीवन छैन । तसर्थ यसको संरक्षणमा नै हाम्रो जीवन अडिएको छ । खानपान र आहार विहारको माध्यमबाट कसरी पर्यावरण जोगाउन सकिन्छ भन्ने नविनतम अवधारणा समेटिएको छ पुस्तकमा । ‘सानो ग्रहका लागि आहार’ भन्ने किताबको नामले शाकाहारी जीवनशैलीको अभ्यास गर्ने कुराको संकेत गर्छ । सन् १९७१ मा प्रकाशित, तीस लाखप्रति बिक्री भएको ‘बेस्टसेलिङ्ग’ किताब हो । लेखक हुन् फ्रान्सिस मुर लेपे । फेब्रुअरी १०, १९४९मा जन्मेकी लेपे अमेरिकी अनुसन्धानकर्ता एवम् खाद्य र प्रजातान्त्रिक नीति सम्बन्धी क्षेत्रकी लेखक, अभियन्ता र वक्ता हुन् । विश्व विख्यात खाद्य विज्ञ हुन् । उनले १९ वटा किताब लेखेकी छन् ।

मासु र मासुजन्य पदार्थको उत्पादन बेकार छ र यसले विश्वव्यापि खाद्य अभाव सिर्जना गर्न मद्दत गर्छ । त्यसैले यस्ता उत्पादन बेकार छन् । साथै यसले विश्वव्यापी खाद्य अभाव सिर्जना गर्न मद्दत गरिहेका छन् भन्ने दरिलो तर्क, तथ्यांक र प्रमाण छन् किताबमा । वातावरणिय शाकाहारीवादको पक्षमा प्रशस्त तर्क र उदाहरण छन् किताबमा । विश्वव्यापी भोकमरी खानाको अभावले नभएर निष्प्रभावी खाद्य नीतिले गर्दा हुन्छ भन्ने जिकिर छ लेखकको । मासु उत्पादन सम्बन्धी प्रशस्त सूचना÷जानकारी र यसले भोकमरीमा पार्ने प्रभावबारे चर्चा छ । साथै स्वस्थ आहार (डाइट) र सयौं प्रकारका मासु बिनाका रेसिपी (पकाउने विधी) पनि उल्लेख गरेकी छन् यस किताबमा लेखकले ।

किताब ४ खण्डमा बाँडिएकोे छ । पहिलो खण्डमा प्रोटिन उत्पादनमा बढी केन्द्रित संयुक्त राज्य अमेरिकाको कृषि व्यवसाय बारे चर्चा छ । प्रोटिन उत्पादनमा बढी केन्द्रित हुँदा समग्र विश्वकै श्रमशक्तीको विनाश भैरहेकोछ भन्ने ठम्याइ छ लेखकको । दोस्रो खण्डमा मानिसको पोषणमा कस्तो प्रोटिन सिद्धान्त हुनुपर्छ भन्ने उल्लेख छ । तेस्रो खण्ड प्रोटिन सिद्धान्तको व्यवहारिक प्रयोग सम्बन्धमा छ । यहाँ खाद्य मुल्य सम्बन्धी तालिका, ब्याख्यान छन् जो प्रोटिन खपत र खास गरेर यसबाट प्राप्त हुने क्यालोरी र आर्थिक तत्वहरुसँग सम्बन्धित छ । र अन्तिम चौंथो खण्डमा बिभिन्न खालका शाकाहारी खाद्य पदार्थलाई समिश्रण गरेर कसरी खाद्य मूल्य बढाउन सकिन्छ भन्ने दिशानिर्देश गर्दै थुप्रै रेसिपी सुझाइएको छ । हामिले रोज्ने वा खाने खानाले कसरी सामाज र वातावरणमा दुष्प्रभाव पार्छ भनेर चर्चा गरिएको छ ।

यो एउटा असाधारण किताब हो जसले खास गरेर अमेरिकीहरुलाई एउटा नयाँ तरिकाको खाने शैलीको सामाजिक र व्यक्तिगत महत्वबारे बताएको छ । ५० बर्ष अघि अमेरिकाको सन्दर्भमा लेखिएको भएपनि किताबमा उल्लेख गरिएका विषयवस्तुको गाम्भिर्यता र सान्दर्भिकता अहिले विश्वव्यापिरुपमा पनि उत्तिकै रहेको छ । आकारमा सानो हाते पुस्तिका जस्तो यो किताब २१ औं शताब्दिमा कसरी असल आहार विहार गर्ने भनेर सिकाउने एउटा पूर्ण मार्गदर्शक किताब हो । खानपान परिवर्तन गरेर आफूलाई सँगसँगै सारा विश्वलाई समेत परिवर्तन गर्न सकिन्छ भन्ने आकर्षक दर्शन बोकेको किताब हो ‘डाइट फर् स्मल प्लानेट’।

के हो त उत्तम आहार ?
उत्तम आहार अहिलेसम्म हामिले जाने बुझेको माछामासु वाला खाना नभएर ‘भेगान’ आहार हो । यो सबैखाले पशुपंछीजन्य खाद्य पदार्थ रहित पूर्णतया फलफुल, तरकारी र अनाज मिश्रित आहार हो । पृथ्वी र हाम्रो स्वास्थ्य दुबैका लागि बोटबिरुवा केन्द्रित आहार उत्तम हुन्छ । प्रसिद्ध स्वास्थ्य (पत्रिका) ल्यान्सेट जर्नलमा सन् २०१८मा छापिएको थियो –भेगान आहारले हरित गृह ग्यास उत्सर्जन उल्लेख्य मात्रामा घटाउँछ । त्यसपछी बल्ल शाकाहारी खानपानले । तपाईंलाई अचम्म लाग्न सक्छ लेखक आफू भने शाकाहारी थिइनन् ।

हाम्रो पृथ्वीको पर्यावरण बिगार्ने १० प्रमुख पत्रु÷खत्तम खाना हुन्–चिनी (वातावरणिय दृष्टिले सबैभन्दा खत्तम बाली), चक्लेट, कफी, प्रशोधित मासु, पाम तेल, मिनरल वाटर र यसको बोतल, सालमन (एकप्रकारको समुद्री माछा), चामल वा भात र अन्य यस्तै प्रकारका लोकप्रिय अन्न, हाइब्रिड उत्पादनहरु जस्तै–फलफुल र तरकारी । कारण उपर्युक्त सूचिमा उल्लेखित खाद्य पदार्थहरु उत्पादनको क्रममा खास गरेर बेमौसमी उत्पादन गर्दा असामान्य मात्रामा पानी र विषादिको प्रयोग गरिएको हुन्छ ।

खानपान एउटा राजनीतिक औजार !
लेखक फ्रान्सिस मुर लेपे भन्छिन्– ‘हाम्रो खानपान एउटा राजनीतिक औजार हो’ । हामी के खाइरहेका छौं भन्ने कुराले नै हाम्रो भविष्य परिभाषित गर्छ । हाम्रो जीवनयापनमा प्रभाव पार्छ । किनकी हामी सबै खाद्य प्रणालीमा जोडिएका छौं । के खाने भन्ने हाम्रो छनोटले खाद्य प्रणालीलाई प्रभाव पार्छ । खाद्य राजनीति (फुड पोलिटिक्स) यस्तो शब्दाबली हो जसले खाद्य नीति र नियम कानून मात्र जनाउँदैन । यसभित्र उत्पादन, नियन्त्रण, नियमन, अनुगमन, वितरण र उपभोग अझ खास गरेर व्यवसायिक खेती र कहिलेकाही त खानाको घरायसी उत्पादन पनि पर्दछन् । लेखकको ठहर छ– विश्वव्यापी भोकमरीको प्रमुख कारण अमेरिकीहरुको मासु मोह हो । किनकी मासु उत्पादन गर्नका लागि धेरै भन्दा धेरै अनाज पशुपंछीको आहारको रुपमा प्रयोग गरिन्छ । तर यसरी उत्पादित अन्न कुन प्रयोजनमा प्रयोग गर्ने भन्ने कुरा आर्थिक र राजनीतिक संरचना र नीतिमा भर पर्दछ ।

यतिबेला हामीकहाँ पनि खानामा मासु हुनुलाई इज्जत र शानको विषय मानिन्छ । मासुबिनाको भोजभतेर, डिनर वा लञ्चको अर्थ नै हुन छोडेको छ । कृषिको व्यवसायिकरण र आधुनिकिकरणको नाममा विषादीको अत्यधिक प्रयोग बढ्दो छ । रैथाने प्रजाती र फलफुल, तरकारी र खाद्य बालि उन्नत हाइब्रिड प्रजातिले बिस्थापित भैरहेका छन् । सरकारले नै यि कुराको प्रवद्र्धन गरिरहेको छ । सरकारी नीति र कार्यक्रममा यो कुरा पुगिरहेको देखिन्न । संविधानमा खाद्य सम्प्रभूताको कुरा त उल्लेख गरिएको छ तर सरकारको व्यवहार त्यसअनुरुप भैरहेको छैन । पर्यावरणिय विनाश र असन्तुलनका नयाँ नयाँ आयामबारे हामी बेखबर छौं । विद्यालय र विश्वविद्यालयका पठ्यक्रममा स्वास्थ्य र वातावरणिय शिक्षामा यो पाटो बिर्सिइएको छ । वातावरणिय विनाश र प्रदुषणको कारणहरु भनेर हामीलाई वनविनाश, प्रदुषण, औद्योगिकरण, सहरिकरण, जलवायु परिवर्तन आदि हुन् भनेर पढाइएको छ, बुझाइएको छ । वास्तवमा यि त सहायक कारण मात्र रहेछन् । प्रमुख कारण त हाम्रो खानपान र
आहार रहेछ ।

पुनश्च : कोभिड १९ को दोश्रो लहरले सिर्जना गरेको निषेधाज्ञाको कारणले घरमा बन्दी भैरहेको बेला एकदिन डा। मनोज ढुंगानालाई मेसेञ्जरमा मेसेज लेखें “डा साब एउटा रोचक किताब उपलब्ध गराइदिनुस् न पढेर फिर्ता गरौंला” । केहि दिन पछि उहाँ किताब बोकेर आइपुग्नुभयो मेरो घरको गेटमा । एउटा झोला दिंदै भन्नुभयो-‘यो तपाईंका लागि कोशेली हो’ । एकैछिन पछी गाडिबाट सानो किताब निकाल्नुभयो । छोटो गफगाफ पछि डा.साब हिडिहाल्नुभयो । घरभित्र पसेपछि झोला खोलेर हेरें । स्यानिटाइजर, बलपेनहरु र प्रख्यात अफ्रिकी लेखक चिनुवा अचिबेको चर्चित उपन्यास ‘थिङ्गस फल अपार्ट’ रहेछन् ।

फिर्ता गर्ने शर्तमा दिएको अर्को किताब थियो ‘डाइट फर् स्मल प्लानेट’ ५० औं बर्षगाँठ संस्करण (सन् २०२१) । किताब भेटेपछी कम्तिमा १५/२० पाना नपढी मन मान्दैन । पढें । खासै विशेष जस्तो लागेन । किताबले त्यति सजिलै तानेन । एक दुई दिन यत्तिकै रह्यो । बिचबिचबाट साना साना च्याप्टर पढ्दै गरें । किताब फिर्ता गर्दा पक्कैपनि कस्तो लाग्यो ? भनेर डा साबले सोध्नुहुन्छ भन्ने मनमा रहिरह्यो । त्यसैले फेरि सुरु गरें पढ्न । सोहि किताब ‘डाइट फर स्मल प्लानेट’को पठन अनुभव हो यो लेखन ।
लेखक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।