ताजा अपडेट »

ग्यास पाइपलाइन विस्फोटबाट मृत्यु हुनेको संख्या ९३

बुधबार, ०९ माघ २०७५, १३ : १३
10 Shares

माघ ९,

मेक्सिको सिटी । ग्यास पाइप विस्फोटबाट मेक्सिकोमा मृत्यु हुनेहरुको संख्या ९३ पुगेको छ । 

मेक्सिकोको हिडाल्गो राज्यमा गत शनिबार भएको विस्फोटमा परी उनीहरुको मृत्यु भएको स्वास्थ्यमन्त्री जर्ज अल्कोसरले जानकारी दिए । 

पाइप विस्फोटनका कारण जलेर सख्त घाइते भएकामध्ये मृत्यु हुनेहरुको संख्या बढ्दै गएको उनले बताए । 

राष्ट्रपति अन्ड्रेस म्यानुअल लोपेज अब्राडोरसमेत सहभागी भएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री अल्कोसरले अरु ४६ जना अझै पनि अस्पतालमै रहेको जानकारी दिए । 

उनले अस्पतालमा उपचार भइरहेकामध्ये थप एक जनाको अवस्था चिन्ताजनक रहेको बताए । 

स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा विस्फोटन भएको थियो । 

तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समयमा आगलागी हुँदा पाइपलाइन विस्फोट भएको बताइएको छ । 

अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । 

मेक्सिकोमा यसअघि सन् २०१० मा भएको यस्तै विस्फोटनमा परी ३० जनाको ज्यान गएको थियो भने ५२ जना घाइते भएका थिए । -
एजेन्सी


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।