ताजा अपडेट »

रुपन्देहीमा लम्बियो निषेद्याज्ञा,जेठ १३ गतेसम्म कायम

बुधबार, २९ बैशाख २०७८, १६ : ५०
87 Shares

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रुपन्देही जिल्लामा जेठ १३ गतेसम्म निषेद्याज्ञाको अवधि बढाएको छ । जिल्लामा अहिलेपनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउँदै आज बसेको डिसीसीएमसीको बैठकले निषेद्याज्ञा बढाउने सिफारिस गरेको थियो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले रुपन्देहीमा जेठ १३ गतेसम्मको लागि निषेद्यज्ञा थप भएको जानकारी दिएका छन् ।

यस अवधिमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको थापाले जानकारी दिए ।

यस्तै जिल्ला भित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाईएको छ ।

अति आवशकीय सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफुल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

https://www.globalaawaj.com/archives/102741
राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा