ताजा अपडेट »

सिद्धार्थ बैंकद्वारा लुम्बिनी प्रदेशको कोरोना रोकथाम कोषलाई १० लाख सहयोग

बुधबार, २९ बैशाख २०७८, १३ : १२
2 Shares


बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सिद्धार्थ बैंकले रु १० लाख सहयोग गरेको छ। बुधबार मुख्यमन्त्री कार्यालयमै पुगी सिद्धार्थ बैंक ,बुटवल शाखा प्रमुख चन्द्रदेव पौडेलले रु १० लाखको चेक मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेको बैंकका सम्पर्क अधिकृत सुबोध बस्यालले ग्लोबल आवाजलाई जानकारी गराए । सहयोग हस्तान्तरणका लागि बैंकका बुटवल शाखा प्रमुख पौडेल ,सम्पर्क अधिकृत बस्याल सहित सञ्चालन अधिकृत दिलिप दुलाल पनि मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लुम्बिनी प्रदेशका जनतालाई सहयोग होस् भनी गत वर्ष पनि बैंकले १० लाख सहयोग गरेको थियो। सहयोग रकमको चेक बुझेपछि मुख्यमन्त्री पोखरेलले संक्रमणमा सबैको सहकार्य आवश्यकता रहेको बताउँदै सबै मिलेर कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा लाग्न आग्रह गरे । सिद्धार्थ जस्तै अन्य बैंक र संघसंस्थाले पनि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले निरन्तरताको लागि पनि अनुरोध गरे ।

बैंकले देशका सातै प्रदेशमा १०/१० लाख सहयोग गर्ने योजना र निर्णय अनुसार लुम्बिनी प्रदेशमा पनि थप १० लाख सहयोग गरेको सिद्धार्थ बैंक ,बुटवल शाखा प्रमुख चन्द्रदेव पौडेलले बताए । उनले भने ‘महामारी र संकटमा जनताप्रति सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले गत वर्ष पनि सहयोग गरेका हौं । यस वर्ष नयाँ भेरियण्टको कोरोना संक्रमण बढ्दो रहेको हुँदा रोकथाम र नियन्त्रणमा टेवा पुगोस् भनेर थप १० लाख रुपैंया सहयोग गरेका छौं । यससँगै आज देशभरका सातै प्रदेशमा १०/१० लाख सहयोग प्रदान गर्ने कार्यक्रम रहेको छ।’

https://www.globalaawaj.com/archives/32740
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।