ताजा अपडेट »

पशुपतिमा धेरै शव भएपछि जलाउने यस्तो वैकल्पिक व्यवस्था !

बुधबार, २९ बैशाख २०७८, ०७ : १३
2 Shares

बुटवल । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो । तर दुइटा मशिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन शुरू गरिएको छ ।शवदाह गृहको एउटा मशिन बिग्रिएर थन्किएको छ । मशिन मर्मतका क्रममा रहेको जनाइएको छ ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत शवदाह गृहका प्रमुख सुवास कार्कीका अनुसार कोरोना संक्रमित शवलाई निःशुल्क रूपमा विद्युतीयमा जलाउने गरिन्छ । प्रक्रिया पुर्‍याएर आएका सबै शव जलाउने गरिएको कार्कीको भनाइ छ ।

दैनिक ७५–८० वटा शव आउँदा मशिनले मात्रै धान्दैन । एउटा शव जलाउन करीब डेढ घण्टा लाग्छ । शव एकैचोटी ५–६ देखि १५ वटा आउने गर्छ । त्यहाँमाथि भएन ३–४ वटा गाडी एकैचोटी आउँछ,’ कार्कीले भने, ‘हामीले व्यवस्थापन त गर्नुपर्‍यो अरू चिता बनाएर । अस्ति ८२ वटा शव आएका थिए हिजो ७५ वटा आए । आज करीब ७९ वटाका लागि खबर आइसक्यो । यत्रो शव दुइटा मशिनले मात्रै कसरी जलाउन सक्नू ?’

उनका अनुसार शव बाहिर जलाउँदा पनि पूरै सावधानी अपनाउनुपर्छ । ‘दाउरा र मशिन दुवै ठाउँमा स्वास्थ्य मापदण्डअनुसार नै शव जलाउने काम हामीले गरिरहेका छौं,’ उनले भने, ‘हामीले जति आउँछन् शव तिनलाई सकेसम्म जलाउने काम नै गरेका छौं । हाम्रो चाहना शवको संख्या नबढोस् भन्ने हो । आएकोलाई त दाहसंस्कार गर्नै पर्‍यो ।’

संक्रमितको शव दाहसंस्कारमा आवश्यक सामग्री आफूहरूले उपलब्ध गराउँदै आएको उनले सुनाए । ‘हामीले कसैबाट रकम लिएका छैनौं । कोभिड–१९ भन्दा बाहेक मृत्यु भएर आएका शवको दाहसंस्कारको नियमानुसार लाग्ने खर्च त लाग्ने नै भयो,’ उनले भने ।

उनका अनुसार सेनाले शव ल्याएर हस्तान्तरण गर्छ । ‘त्यसको सबै व्यवस्थापन हामीले नै गर्छौं । सेना र हामी मिलेर नै काम गरिरहेका छौं । सेनाको हेल्प डेस्क पनि छ । जलाउनेदेखि यहाँको व्यवस्थापन हामीले गर्छौं । उहाँहरूले ल्याएर चितासम्म राखिदिनुहुन्छ,’ उनले भने, ‘जनशक्ति चाहियो भने उहाँहरू पनि सहयोग गर्नुहुन्छ । चिता बनाउनेदेखि जलाउने काम हाम्रो मानिसले गर्छन् । भ्याएनन् भने मात्रै सेनाले सहयोग गर्छन् । अहिले मसहित ३५ जना जनशक्ति खटिएका छौं शव जलाउनकै लागि ।’

उनले आर्यघाटमा शव जलाउँदा संक्रमण नफैलने बताए । अरू शव जलाउँदा वातावरणमा जति असर पर्छ कोरोना सक्रमितको जलाउँदा पनि उही असर पर्ने उनको भनाइ छ । ‘जसरी पनि सुरक्षाका सामग्री अपनाएर काम गर्नुपर्‍यो,’ उनले भने ।

चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका पूर्वडीन जगदीश अग्रवालका अनुसार कोरोना सक्रमितको मृत शरीरबाट पनि संक्रमण हुनसक्छ । ‘मृत शरीरबाट निस्किएका बढी फ्लु, र्‍याल, सिगान, थुकका छिटालगायत लुगा कपडाबाट पनि कोरोना अर्को व्यक्तिलाई सर्न सक्छ,’ अग्रवालले भने ।

आर्यघाटमा खुला ठाउँमा संक्रमितको शव जलाएको प्रसंगमा उनले भने, ‘जलाउने ठाउँको आधारमा कोरोना सक्रमित हुने भन्ने होइन । शव जहाँ जलाए पनि सुरक्षित तरिकाले जलाउन जरुरी छ । मृतकका आफन्त पनि सुरक्षित हुन जरुरी छ ।’

उनका अनुसार संक्रमितको शव प्लास्टिकमा प्याकिङ हुनु जरुरी छ । ‘आफन्तको माया लाग्यो, हाम्रो संस्कारअनुसार जलाउँछांै भनेर शवलाई प्लास्टिकबाट निकाल्न भएन । जलाउने कर्मचारी पनि पीपीई लाउने, स्यानिटाइज गर्ने लगायतका कार्य गर्न जरुरी छ । जलाइसकेको शवको खरानी तथा धुवाँबाट पनि संक्रमण फैलन्छ भन्नु गलत सूचना हो,’ उनले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।