ताजा अपडेट »

कोरोना संक्रमितको अस्पतालबाहिर भुइँमै उपचार, अक्सिजन नपाउँदा ३ जनाको मृत्यु

बुधबार, २९ बैशाख २०७८, ०७ : ०६
6 Shares

महेन्द्रनगर ।महेन्द्रनगरस्थित महाकाली अस्पतालको आकस्मिक कक्षमा शय्या अभावमा भुइँमै उपचार गर्नुपर्ने अवस्था आएको छ ।

आईसीयू, एचडीयू र अन्य वार्ड भरिएपछि संक्रमितलाई आकस्मिक कक्ष र बाहिरै राखेर उपचार भइरहेको छ ।

‘भित्र राख्न अक्सिजन पनि छैन, बेड भरिभराउ छन्,’ अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘बाहिर पनि भुइँमै राखेर उपचार भइरहेको छ ।’

उनका अनुसार इमर्जेन्सी वार्डका १२ बेडमा २८ जनाको उपचार गरिँदैछ । अधिकांशलाई अक्सिजन दिइएको छ । बिरामीको चाप बढेपछि अक्सिजनको पनि हाहाकार हुन थालेको छ । अहिले यहाँ आईसीयू, एचडीयू, वार्ड र इमर्जेन्सीमा गरी ८० जना संक्रमितको उपचार भइरहेको छ । संक्रमितका लागि बनाएको ५० बेड क्षमताको उपचार केन्द्रमा ६० जनाभन्दा बढी छन् ।

‘अवस्था जटिल बन्दै गएको छ, बिरामीको चाप थेगिनसक्नु भइसक्यो,’ डा. रोकायाले भने, ‘अब आउने बिरामीलाई कहाँ राख्ने भन्ने चिन्ता छ ।’ उनका अनुसार दैनिक २०/२५ जना जटिल खालका संक्रमित अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालमा अक्सिजनको हाहाकार हुन थालेको छ । सोमवार साँझ अक्सिजनकै अभावका कारण ३ संक्रमितको मृत्यु भएको डा. रोकायाले बताए । उनका अनुसार नेपालगञ्जबाट अक्सिजन सिलिन्डर आइपुग्न केही ढिला हुँदा र यहाँको प्लान्टबाट सप्लाई बन्द हुँदा केहीबेर हाहाकार भएको हो । नेपालगञ्जबाट अक्सिजन आएपछि केही सहज भएको उनले बताए ।

‘अहिले पनि कतिबेला अक्सिजन सकिएर हाहाकार हुन्छ, भन्न सकिँदैन,’ महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘दिनमा सय बढी सिलिन्डर आवश्यक पर्छ, अहिले त्यो पनि पुर्‍याउन धौधौ भइरहेको छ ।’ उनका अनुसार अस्पताल भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीलाई अक्सिजन दिनुपर्ने हुन्छ । जतिबेला नेपालगन्ज वा धनगढीबाट अक्सिजन सिलिन्डर बोकेको ट्रक आउँछ बिरामीका आफन्त अक्सिजनका लागि हारालुछमै उत्रिन्छन् । उनीहरु अक्सिजनको खोजीमा दिनभरि भौंतारिएका हुन्छन् । आफन्तलाई अक्सिजनको जोहो गर्न हारगुहार गरिरहेका हुन्छन् ।

डिस्चार्ज हुनेभन्दा नयाँ संक्रमित थपिनेको संख्या बढी भएका कारण बेडदेखि अक्सिजन अभाव भइरहेको अध्यक्ष जोशीले बताए । ‘अब जनशक्तिको पनि अभाव चर्किन थालेको छ,’ उनले भने, ‘डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु एकैपटक ठूलो संख्यामा संक्रमित भएपछि झनै समस्या भएको छ ।’ उनका अनुसार अहिले १० जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । उनीहरू कतिपय होम आइसोलेसन र अस्पतालकै क्वार्टरमा बसेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।