ताजा अपडेट »

रुसको स्कूलमा अन्धाधुन्ध गोली प्रहार, सात बालबालिकासहित ९ जनाको मृत्यु

बुधबार, २९ बैशाख २०७८, ०६ : ५०
4 Shares

रुसको कजान शहरस्थित विद्यालयमा भएको अन्धाधुन्ध गोलीकाण्डमा सात बालबालिका र दुई शिक्षकको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।

गोली लागेर अरु २१ जना घाइते भएको र अधिकांश बाबालिका रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।गोलीप्रहार गरेको अभियोगमा १९ वर्षका युवालाई पक्राउ गरिएको छ ।

मस्कोबाट ८२० किलोमिटर पूर्वमा रहेको तातार्स्तानको राजधानी कजानमा घटना भएको हो । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनले घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन् ।तातार्स्तानका नेता रुस्तम मिनिखानोभले आक्रमणबाट ठूलो शोकमा परेको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाप्रति दुःख व्यक्त गर्दै देशको बन्दुक नियन्त्रण सम्बन्धी कानूनमा पुनर्मूल्यांकन गर्ने बताएका छन् ।रुसमा विद्यालयमा हुने अन्धाधुन्ध गोलीकाण्ड दुर्लभ रहँदै आएको छ ।नेपाली समय अनुसार मंगलबार मध्यरात १२ बजेपछि भएको घटनामा चार छात्र र तीन छात्रा तथा एक शिक्षिका र अर्की एक सहयोगीको ज्यान गएको हो ।

स्कूल नम्बर १७५ मा भएको घटनामा मारिनेमा कक्षा ८ का छात्रछात्रा हुन्, उनीहरुको उमेर १५ वर्षको हाराहारीमा रहेको छ । घटनामा १८ छात्रछात्रा तथा तीन शिक्षकशिक्षिका घाइते भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।