ताजा अपडेट »

अक्सिजनमा कोटाले झनै संकट

मंगलबार, २८ बैशाख २०७८, ०७ : ३७
सरकारले कोटा निर्धारण गरेर अक्सिजन दिन थालेपछि अपुग भएको भन्दै अस्पताल व्यवस्थापकले कोरोना संक्रमितका आफन्तलाई आफैं अक्सिजन खोजेर ल्याउन आग्रह गर्न थालेका छन् । आईसीयू र भेन्टिलेटरमा रहेका बिरामीका आफन्तले समेत आफैं अक्सिजन जोहो गर्नुपर्ने अवस्था आएको हो ।कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले सोमबार कुन अस्पताललाई दिनमा कति सिलिन्डर अक्सिजन दिने भनेर कोटा निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको अस्पतालमा उपचाररत बिरामीको विवरणका आधारमा सीसीएमसीले अक्सिजन सिलिन्डरको कोटा तोकेको हो ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले कोटा निर्धारण गरिएपछि कसैले पनि अक्सिजन दिन नचाहेको बताए । ‘हामीलाई पहिला अक्सिजन दिने गरेको कम्पनीले तोकिएको ठाउँमा जानुस् भन्यो, तोकिएको कम्पनीले पनि अक्सिजन दिएन,’ उनले भने ।

महतोका अनुसार मेडिसिटीमा १ सय १८ जना संक्रमितको उपचार भइरहेको छ । भेन्टिलेटरमा मात्र ४० जना छन् । अस्पतालमा भर्ना भएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई अक्सिजन दिनुपर्ने अवस्था छ । ‘दिनमा ३ सय सिलिन्डर जोहो गरेर बिरामीको उपचार गरिरहेका थियौं । सरकारले एक सय सिलिन्डर दिने निर्णय गरेको रहेछ,’ उनले भने, ‘अक्सिजन नभएकैले भोलि दुर्घटना नहोस् भनेर बिरामीका आफन्तलाई वास्तविकता बताएर अक्सिजन खोज्न आग्रह गरेका छौं ।’ आईसीयू र भेन्टिलेटरमा हाइफ्लो अक्सिजन दिइँदै गरेका संक्रमितका आफन्त आफैंले अक्सिजन खोज्नुपर्ने भएपछि निराश छन् ।

९० जना संक्रमितको उपचार भइरहेको धुम्बाराहीको ह्याम्स अस्पतालले दिनमा सय सिलिन्डरको मात्र कोटा तोकिएपछि बिरामी भर्ना गर्न छाडेको छ । ‘भएकै बिरामीलाई अक्सिजन पुर्‍याउन मुस्किल भएपछि हामीले भर्ना लिनै छाडिसक्यौं,’ अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले भने, ‘जति कोटा तोकिएको छ, त्यतिमा सुविधा दिन गाह्रो भयो । यो समस्या सीसीएमसीमा राखिसकेका छौं । पुनर्विचार हुनेमा आशावादी छौं ।’ उनले ह्याम्समा दिनमा २ सय ५० सिलिन्डर खपत भइरहेको जानकारी दिए । अस्पतालमा अक्सिजन प्लान्ट भए पनि पुरानो आवश्यकताअनुसार मात्रै भएकाले अहिले बढी अक्सिजन चाहिएको डा. शर्माले बताए ।

कोटा निर्धारणले सरकारी अस्पतालमा पनि समस्या सुरु भएको छ । पाटन अस्पतालमा दिनमा ३ सय सिलिन्डरभन्दा बढी अक्सिजन खपत हुन्छ तर सरकारले दुई सय सिलिन्डर मात्रै तोकिदिएको छ । ‘सामान्य अवस्थामै डेढ सय सिलिन्डरभन्दा बढी खपत हुन्थ्यो । कोरोनाका बिरामी बढेपछि दोब्बर चाहिन थालेको छ । सरकारले थोरै कोटा तोकिदिएपछि बिरामी भर्ना लिनै गाह्रो भएको छ,’ पाटनका एक चिकित्सकले भने ।

सीसीएमसीले सोमबार कान्तिपुर, सगरमाथा, नवज्योति, सीता, अक्सिटेक, सोपान, शंकर, हिमाल, हाम्रो ग्यास कम्पनीलाई पत्र लेखी कुन अस्पताललाई कति अक्सिजन दिने भनेर निर्देशन दिएको हो । सीसीएमसीका सहसचिव नूरहरि खतिवडाले हस्ताक्षर गरेको पत्रमा अस्पतालहरूलाई तोकिएबमोजिम दैनिक न्यूनतम अक्सिजन वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।