ताजा अपडेट »

बुटवल र देवदहका २ जनासहित चितवनमा छ सङ्क्रमितको मृत्यु

सोमबार, २७ बैशाख २०७८, ११ : २३

चितवन । यहाँका दुई अस्पतालमा आइतबार राती मात्र छ सङ्क्रमितको मृत्यु भएकाे छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई चितवनका र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । निमोनिया भई यही वैशाख १६ गते अस्पताल भर्ना भएकी उनमा १७ गते सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः१० बजे मृत्यु भएको हो । पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ का ३९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनियाको समस्या भई अस्पताल आएका उनमा यही वैशाख २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी कोरोना पुष्टि भएसँगै २४ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएका थिए । उनको अस्पतालको कोभिड सघन उपचार कक्षमा आज बिहान ३ः०० बजे मृत्यु भएको हो ।

नवलपरासीको कावासोतीका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–५ का ६१ वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या आई यही वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः३० बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमणका कारण कपिलवस्तुको तौलिहवा नगरपालिका–१ बस्ने ६० वर्षिय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते चितवन मेडिकल कलेज भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०ः३५ बजे मृत्यु भएको हो ।

यसैगरी रुपन्देहीकै देवदह नगरपालिका–९ का ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजका अनुसार निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनामा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०ः३० बजे मृत्यु भएको हो ।

रासस
लेखकको बारेमा
रासस