ताजा अपडेट »

मेडिकल कलेजले उपचारबाट हात उठायो, भोलिदेखि बिरामी नलिने

आइतबार, २६ बैशाख २०७८, १७ : ३७
4 Shares

भैरहवा । बिरामीलाई आवश्यक पर्ने अक्सिजनको अभाव देखाउँदै भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले नयाँ कोभिडका बिरामी भर्ना नलिने जनाएको छ । मेडिकल कलेजले आईतबार एक पत्र जारी गर्दै अक्सिजनको नियमित आपूर्तिको व्यवस्था नभए सम्म सिमित शैया मात्र सञ्चालनमा ल्याउने जनाएको छ ।

मेडिकल कलेजका मेडिकल सुपरिडेन्टेन डाक्टर साधन मुखीले जारी गरेको पत्रमा अस्पतालले दैनिक रुपमा २ सय जना गम्भिर प्रकिृतिका बिरामीहरुको उपचार प्रदान गर्दै आएकोमा अक्सिजनको अभावमा उपचार गाह््रो भएको बताएका छन् । दैनिक ७ सय भन्दा बढी सिलिण्डरबाट अक्सिजनको नियमित आपूर्ति गर्नु पर्नेमा हाल त्यो पुरा नभएको हुदा उपचार प्रभावित भएको उनको भनाई छ । यसले गर्दा अब थप कोरोनाका बिरामी भर्ना गरि उपचार गर्न असहज परिस्थिति भएको बताउँदै अस्पतालले सोमबार देखी नियमित शैया मात्र सञ्चालन गर्ने जनाएको छ ।

मेडिकल कलेजका जन सम्पर्क अधिकृत शुसिल गुरुङ्गले सोमबार देखी कोभिड बाहेक अन्य बिरामीको मात्र उपचार हुने जनाएका छन् । उनले अस्पताललाई अहिले प्रति दिन ७ सय सिलिण्डर आवश्यक रहेको जनाए । स्थानिय प्रशासनले अस्पताललाई दैनिक ४ सय २० वटा सिलिण्डर दिने प्रतिवद्धता जनाएको छ । तर प्रतिवद्धता अनुसार पनि सिलिण्डर नआएको कारण उपचार गर्न नसकिएको उनले बताए । “हाम्रोमा २५ देखी ३० वटा सिलिण्डर प्रति घण्टा खपत भई रहेको छ, प्रशासनले आज १ सय ६८ वटा मात्र सिलिण्डर पठाएको छ । अनि कसरी उपचार सम्भव छ ?” गुरुङ्गले भने भैरहवामा रहेको मेडिकल कलेजमा अहिले कोभिड बिरामीका लागी १० वटा आइसियु, ९० वटा एचडियु बेड रहेका छन् । यस संगै थप ६० शैयाको थप आईसोलेसन निर्माण सम्पन्न भई सकेको उनले जानकारी दिए । यस संगै अस्पतालाई प्रतिदिन १ हजार अक्सिजन सिलिण्डर आवश्यक पर्ने गुरुङ्गको भनाई छ ।

यसले कोभिडका बिरामीको उपचारमा ठूलो राहत देखिएको थियो । भोली देखी अस्पतालले त्यो सेवा बन्द गर्दा यसको प्रत्यक्ष प्रभाव पनि कोभिड बिरामीलाई नै पर्ने हो । यस बिषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गलाई सम्पर्क गर्दा उनले अस्पतालले भर्ना लिन नछोड्ने दावी गरेका छन् । “आज मात्रै मैले २ पटक अस्पतालको अनुगमन गरेको छु, २ सय ५५ जनालाई अक्सिजन दिएर राखिएको छ ।” तामाङ्गले भने

अहिले सबै भन्दा ठूलो समस्या भनेकै अक्सिजनको रहेको हुदा यसको समाधानको लागी छलफल भै रहेको उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।