ताजा अपडेट »

करीब ७५ प्रतिशत खाद्यान्न उद्योग बन्द, बाँकी पनि बन्द हुने अवस्थामा

आइतबार, २६ बैशाख २०७८, ०८ : ०२
4 Shares

काठमाडौं । कोरोना महामारीको प्रभावका कारण खाद्यान्न उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । महामारीको अवस्था भयावह बन्दै गएर त्रास बढेकाले उद्योगमा काम गर्ने श्रमिकहरू उद्योगमा आउन नसक्ने अवस्था सिर्जना भएसँगै उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आएको हो ।

दाल, चामल र तेललगायत खाद्यान्न उत्पादन गर्ने अधिकांश उद्योग विराटनगर, वीरगञ्ज, नेपालगञ्जलगायत शहरमा रहेका छन । ती स्थानमा कोरोना संक्रमणको दर धेरै रहेकाले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको हो । नेपाल चामल तेल र दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार संक्रमण हुने त्रासका कारण उद्योगमा काम गर्ने श्रमिकहरू काममा आउन हिचकिचाइरहेको अवस्था छ । उनीहरूलाई उद्योगमा राखेर काम गराउन सक्ने अवस्था पनि छैन ।

यसले गर्दा अहिले करीब ७५ प्रतिशत खाद्यान्न उद्योग बन्द भइसकेका छन् भने बाँकी उद्योगहरू पनि बन्द हुने अवस्था आइसकेको उनले बताए । अहिले धेरै मानिसहरूले रोजगारी गुमाएका कारण उपभोक्ताको आम्दानी घट्न गई माग पनि घटेको उद्योगीहरूले बताएका छन् । संक्रमणको अवस्था यस्तै रहिरहे अबको १५ दिनभित्र सबै खाद्य उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने गुप्ताले बताए ।

श्रमिकहरूमा त्रास बढेकै कारण एक सिफ्टमा मात्र उद्योगहरू चलिरहेको अवस्था छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।