ताजा अपडेट »

बेडको लागि पालो कुर्दै बिरामी, भुईमै राखेर उपचार

बुधबार, २२ बैशाख २०७८, १५ : ४६
11 Shares

भैरहवा । कोरोना महामारीको दोश्रो लहरले अहिले रुपन्देही नराम्ररी प्रभावित बनेको छ । दैनिक रुपमा कोभिड संक्रमितको संख्या उकालो लागेको छ । हिजो मात्रै रुपन्देहीमा कोभिड संक्रमितको संख्या ७ सय ९७ जना पुगेको थियो । दैनिक रुपमा कोभिड संक्रमण बढ्दै गए पछि यहाँका अस्पतालहरु भरि-भराउ भएका छन् । भैरहवामा रहेको भिम अस्पतालमा पनि बेड नपुगेर बिरामीहरु भुईमै उपचार गराउन बाध्य भई रहेका छन् ।

भिम अस्पताललाई कोभिड अस्पतालको रुपमा लगिए पछि यहा ५ बेड सहितको २७ बेडको पूर्वाधार तयार गरिएको थियो । तर अहिले भिम अस्पतालले ४१ जना कोभिड बिरामीहरुलाई उपचार प्रदान गरि रहेको छ । उपचारको लागी पुगेका कतिपय बिरामीहरु बेड पाउन सकिरहेका छैनन् भने पाएकाहरु पनि भुईमै उपचार गराउन बाध्य रहेका छन् । भिम अस्पतालमा नया निर्माण भएको आकस्मिक कक्षमा अहिले बिरामीको चाप बढेको छ ।

अस्पतालको आकस्मिक कक्षकै सबै बेड भरिएर बिरामीहरु भुईमै उपचार गराइ रहेका छन भने अस्पताल भित्र ठाउ नपुगेर आकस्मिक कक्षकै गेटमा समेत अक्सिजन लगाएर बिरामीहरुको उपचार थालिएको छ । भैरहवा भिम अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले अहिले मुश्किलले उपचार गरि रहेको बताए । अस्पतालमा आफन्तको रुवावासी भएपछि बिरामीलाई अक्सिजन दिएर भुईमै उपचार दिन बाध्य रहेको उनले बताए । पछि बेड खाली भए पछि मात्रै उनिहरुलाई बेड प्रदान गरिएको पोखरेलको भनाई छ । कोभिड बिरामी निको भई घर गए वा बिरामीको मृत्यु भए मात्र बेड खाली हुने गरेको उनले बताए ।

भिम अस्पतालमा आउनेहरु पनि अस्पतालमा बेड नपाएर भुईमै उपचार गराउन पाए पनि सन्तुष्ट नै छन् । बिरामीका आफन्तहरुले अस्पतालको यो बाध्यता बुझेको बताउछन् । भुइमै भए पनि अस्पतालमा उपचार भई रहेको कुराले सन्तुष्टि प्रदान गरेको आफन्तको भनाई छ । अस्पतालमा जनशक्ति नै नभएको अर्का एक आफन्तको भनाई छ । अस्पतालमा अहिले फिजिशियन डाक्टरको कमि भएको उनले बताए । यति दिन भई सक्दा पनि सरकारले पूर्वाधारमा तयारी नगर्दा यस्तो अवश्था आएको उनको गुनासो थियो ।

भिम अस्पताल भैरहवामा अहिले कोभिड डेडिकेटेड ४ जना मेडिकल अफिसर, २ जना कन्सलटेन्ट र १४ जना नर्सिङ स्टाफ रहेका छन् । यस अतिरिक्त ५ जना कार्यलय सहयोगी र ५ जना प्यारामेडिक रहेको तथा थप जनशक्तिको लागी सूचना माग भएको र अहिले आन्र्तावार्ताको तयारीमा रहेको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जानकारी दिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा