ताजा अपडेट »

अक्सिजन अभावमा रुपन्देहीकी ३० वर्षिया महिलाले गुमाइन् ज्यान

बुधबार, २२ बैशाख २०७८, १४ : ४४
4 Shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा आज (बुधबार) विहान दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमका अनुसार कञ्चन १ की अन्दाजी ७० वर्ष र कञ्चन-४ की ३० वर्षिया महिलाले ज्यान गुमाएका हुन् । उनीहरुको उपचारकै क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

कञ्चन-४ की ३० वर्षिया महिलाको उपचारका लागि अक्सिजन तथा बेड अभावमा ज्यान गुमाउनु परेको परिवारले जनाएका छन् । उनलाई टाउको दुख्ने, ज्वरो आउने र रुघा खोकी लागेपछि उपचारको लागि बैशाख १४ गते बुटवल ल्याइएको थियो । भोलिपल्ट १५ गते पिसिआर परीक्ष रिपोर्ट पोजेटिभ आएपछि घरमै होम आइसोलेसनमा राखी उपचार गरिएको थियो ।

एक्कासी अक्सिजन लेवल कम भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारका लागि लगिएको भएपनि अस्पतालमा वेड तथा अक्सिजनको अभावमा मृत्यु भएको मृतकका परिवारले जनाएका छन् । ‘बिरामीको अवस्था निकै कमजोर हुदै गएको थियो, अस्पतालका चिकित्सक तथा नर्सहरुलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेपनि समयमै अक्सिजन नपाएका कारण श्रीमतीको मृत्यु भयो ।’-मृतकका श्रीमानले गुनासो गरे ।

यस्तै बुटवलमै बस्दै आएकी कञ्चन-१ की ७० वर्षिया महिलाको प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको मृतकका परिवारले जानकारी दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यलयले कञ्चन गाउँपालिकाको स्वास्थ्य कार्यलयमा गराएको जानकारी अनुसार कञ्चनमा कोरोना संक्रमणको दोश्रो लहरमा ४५ जना संक्रमित भेटिएका छन् । उनीहरुको पहिचानका लागि कार्यालयले दिएको ठेगाना र सम्पर्क नम्वरमा सम्पर्क गर्दा गाउँपालिकाको स्वास्थ्य कार्यालयले भने ३५ जनाको मात्र पहिचान भएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरुको सम्पर्क र पहिचानमा रहेकाहरुको नियमित स्वास्थ्य अवस्थाबारे निगरानी र परीक्षण भइरहेको उनले बताए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको गौतमले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।