ताजा अपडेट »

बुटवल-नारायणगढ खण्ड : सडक विस्तारले गति लिँदै

मंगलबार, २१ बैशाख २०७८, ०९ : २८
24 Shares

काठमाण्डौं । विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्रकारका कानुनी अड्चनको निराकरणसँगै राजमार्गको सो खण्डको विस्तार कार्यले गति लिएको हो । नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य अगाडि बढाउन अब कुनै पनि कानुनी वा व्यावहारिक बाधा अड्चन नरहेको जानकारी दिए । उनले अवरोध हटिसकेकाले विस्तार कार्यले गति लिई काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति सात प्रतिशत छ । सरकारले पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने काम यसै खण्डबाट सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते राजमार्गको सो खण्डको विस्तार कार्यको शिलान्यास गरेका थिए।

आयोजनाका अनुसार अहिलेसम्म रुख कटानको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रमा शतप्रतिशत रुख कटान सम्पन्न भइसकेको छ भने वन क्षेत्रमा १० प्रतिशत कटानको काम बाँकी छ । विस्तारका क्रममा झन्डै ११ हजार रुख काटिनेछ । यस क्षेत्रमा छवटा वन क्षेत्र छन् । कोरोना महामारीबीच स्वास्थ्य मापदण्ड अपनाएर अहिले विस्तार कार्यमा दैनिक एक हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको प्रमुख दिष्टीको भनाइ छ । गैँडाकोट–दाउन्ने सडकखण्ड तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा कल्भर्ट निर्माणको काम सम्पन्न भएको जानकारी उनले दिए ।

प्रमुख दिष्टीका अनुसार अहिलेसम्म २२ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी गैँडाकोट क्षेत्रका पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरी १२ वटा ठूला पुल निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । निर्माणाधीन पुलहरूको ‘पाइलिङ’को काम सम्पन्न भई जग (फाउन्डेसन)को काम भइसकेको जानकारी उनले दिए । राजमार्ग विस्तारका क्रममा कुल १२ वटा ठूला पुल र २२ वटा साना पुल निर्माण गर्नुपर्ने देखिएको छ । त्यसैगरी अहिले सञ्चालनमा रहेको सडकको दायाँबायाँ माटो ‘फिलिङ’ र ‘कटिङ’को काम भइरहेको छ । गैँडाकोटदेखि चोरमारासम्म माटो भर्ने काम सम्पन्न भइसकेको जानकारी उनले दिए। यो क्षेत्रमा रुख कटानको काम सम्पन्न भइकेको छ ।

दुई ‘प्याकेज’मा विस्तार
आयोजनाका निर्देशक सुशीलबाबु ढकालले गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ गरी एकैसाथ विस्तार कार्य भइरहेको जानकारी दिए । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटर छ । उनका अनुसार विस्तार भइरहेको यो सडकखण्डको ‘स्ट्यान्डर्ड’ चौडाइ चार लेन २४ मिटर हुन्छ । अन्य क्षेत्रमा सडकको कुल चौडाइ ‘मेडियन’सहित चार लेनको हुन्छ भने ग्रामीण र सहरी क्षेत्रमा चार लेनका साथै सहायक मार्गसमेत निर्माण गरिनेछ । त्यसको चौडाइ तीन मिटर हुनेछ । विस्तार भइरहेको पूरै क्षेत्र ११३ किलोमिटरमा हरियाली रहनेछ । त्यसैगरी कठिन भूगोलका कारण दाउन्नेको उकालो क्षेत्रको ४.१ किलोमिटरमा विस्तारपछि पनि यो राजमार्ग तीन लेनको मात्र हुने निर्देशक ढकालले जानकारी दिए। दाउन्ने क्षेत्रमा सवारी साधनले दुई लेन उकालो र एक लेन ओरालोमा गुड्नुपर्ने हुन्छ ।

चार स्थानमा जैविक मार्ग
केही समययता राजमार्गमा जङ्गली जनावरको हिँडडुल बढ्दै जाँदा मानवीय र जीवजनावरको समेत क्षति हुने गरेकाले विस्तार भइरहेको यस राजमार्ग खण्डको वन तथा निकुञ्ज क्षेत्रमा जङ्गली जनावर राजमार्गलाई वारपार गर्न चारवटा जैविक मार्ग निर्माण भइरहेको आयोजनाका निर्देशक ढकालले जानकारी दिए । गैँडाकोटदेखि दाउन्नेसम्मको जङ्गल क्षेत्रका चार ठाउँमा ‘अन्डर पास’ (जैविक मार्ग) निर्माण भइरहेको उनले बताए।

करिब १७ अर्ब रुपियाँ लागत
आयोजनाका अनुसार कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँको लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा विस्तार कार्य भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानी छ । एडीबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । आयोजनाका अनुसार गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ छ ।

४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । दुइटै प्याकेज निर्माणको जिम्मा चिनियाँ कम्पनीले नै पाएको छ । राजमार्गको यस खण्डको विस्तार सम्पन्नपछि नारायणगढ र बुटबलबीचको दूरी बढीमा दुई घण्टाको हुने सडक विभागको दाबी छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले यो राजमार्ग शिलान्यास गरेका थिए । शिलान्यासको झन्डै छ दशकपछि यो राजमार्गको विस्तार सुरु भएको हो ।-भउचप्रसाद यादव/गोरखापत्र अनलाइन

https://www.globalaawaj.com/archives/94638
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।