ताजा अपडेट »

सीमा नाकामा हेल्थ डेस्क स्थापना

सोमबार, २० बैशाख २०७८, ११ : ३९
4 Shares

नवलपुर । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ । उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताए । गत वर्ष पहिलो लहरको कोरोना सङ्क्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट सीमा नाका हुँदै आवतजावत गर्नेको ज्वरो जाँच गर्दै उनीहरुको ठेगाना लेख्ने काम गर्ने जनाइएको छ ।

प्रदेशकै एकमात्र भारतसँग सीमा जोडिएको नाका भएकाले प्रदेश सरकारले नै स्वास्थ्यकर्मी राख्नुपर्नेमा त्यस्तो नगरी गाउँपालिकालाई नै जिम्मा दिँदा पर्याप्त स्वास्थ्यकर्मी राख्न नसकिएको गाउँपालिका अध्यक्ष डम्मरबहादुर जिसीले गुनासो गरे । गाउँपालिकासँग सीमित बजेट हुँदा सीमा नाकाको जिम्मेवारी धान्न मुस्किल हुने उनको भनाइ छ । सिमानामा प्रदेश सरकारबाट नै कर्मचारी राख्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको जिसीले बताए ।

गत वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण बन्द गरिएको त्रिवेणी भन्सार नाका १३ महिनासम्म खुल्न सकेको छैन । नाका नखुल्दै फेरि त्यहाँ हेल्थ डेस्क स्थापना गरिएको हो । पर्याप्त मात्रामा स्वास्थ्यकर्मी राखेर कम्तीमा भारतबाट त्यो नाका हुँदै नेपाल भित्रिनेको पिसिआर परीक्षणको व्यवस्था गर्न सके प्रभावकारी हुने जिसीको भनाइ छ ।

भारतबाट नेपाल भित्रिनेको सीमाबाटै पिसिआर परीक्षण नगरी घर पठाउँदा कोरोना सङ्क्रमणको जोखिम बढ्ने देखिएको छ । नाकामा राखिएको हेल्थ डेस्कमा कार्यरत दुईजना कर्मचारीबाट ज्वरो नाप्ने र ठेगाना लेख्नेबाहेक अरू काम हुन नसक्ने जिसीको भनाइ छ । त्रिवेणी नाकामा प्रदेश सरकारले चासो नदिएका कारण पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन नसकिने उनले बताए ।

सीमा नाकामा प्रदेश सरकारको सहयोगबाट कडाइ गर्न सहज हुने जनाउँदै अध्यक्ष जिसीले नाकामा कडाइ गरे मात्रै कोभिड न्यूनीकरणमा सफलता मिल्ने बताए । सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई प्रभावकारी बनाउनसमेत प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष जिसीको भनाइ छ ।

रासस
लेखकको बारेमा
रासस