ताजा अपडेट »

लुम्बिनी प्रदेशमा तुहियो अविश्वासको प्रस्ताव, पोखरेलकै नेतृत्वमा नयाँ सरकार

आइतबार, १९ बैशाख २०७८, ११ : ५७
2 Shares

बुटवल । लुम्बिनी प्रदेशसभामा आफू विरुद्ध आएको अविश्वास प्रस्तावलाई पूर्वः मुख्यमन्त्री शंकर पोखरेलले तुहाइदिएका छन् । अविश्वासको प्रस्तावमाथी टेबल गर्नका लागि विशेष अधिवेशन डाकिएको दिन विहानै सरकारबाट राजीनामा दिएर उनले अविश्वासको प्रस्ताव तुहाइदिएका हुन् । पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुखबाट स्वीर्कत भएलगत्तै अविश्वासको प्रस्ताव स्वतः खारेज भएको छ ।

यसैबीच नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको एमाले संसदस्य दलका सचेतक भूमिश्वर ढकालले जानकारी दिए । पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिने ढकालले बताए ।

प्रदेश सभामुखपुर्णबहादुर घर्तीले ग्लोबल आवाजसँग कुरा गर्दै प्रदेशसभालाई कसरी अगाडी बढाउने बारे छलफल भइरहेको बताएका छन् । ‘प्रदेशस प्रमुखले आफै आह्वान गरेको विशेष अधिवेशन समाप्त भएको घोषणा गर्दै पत्र आएको छ ।’-उनले भने ‘अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न अहिले म प्रदेश सचिवालयतर्फ जाँदै छु ।’

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए । पछिल्लो समय प्रदेश सभामा देखिएको अंकगणितलाई आधार मानेर मुख्यमन्त्री पोखरेलले आफ्नो नेतृत्वमा एकल सरकार बनाउन आइतबार राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेश सभामा यसअघि ८७ जना सांसद थिए । पछिल्लो समय जसपाका चार र माओवादी केन्द्रका दुई जना सांसद निलम्बित भएपछि अहिले प्रदेश सभा ८१ सदस्यीय छ । सत्तारूढ एमालेसँग ४१ सांसद छन् । संविधाननको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन पुग्ने ४१ सांसद आफ्नो दलका भएपछि पोखरेलले अविश्वासको प्रस्ताव पेश हुने दिन नै राजीनामा दिएका हुन् ।

प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई (चारजना कारबाही पछि) बच्ने छन् । त्यस्तै राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । लुम्बिनीमा एमालेबाहेकका दलको सभामुखबाहेकको संख्या जोड्दा ३९ मात्रै पुग्छ । अविश्वासको प्रस्तावमा एमालेभित्रको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गर्ने सम्भावना पनि पोखरेलको राजिनामासँगै तुहिइएको छ । लुम्बिनी प्रदेश सभामा नेपाल पक्षका २ सांसद छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।