ताजा अपडेट »

सङ्क्रमण बढेसँगै आयुर्वेदिक औषधि किन्नेको भीड बढ्याे

शनिबार, १८ बैशाख २०७८, १६ : ०६
2 Shares

काठमाडौं। कोरोनाबाट बच्न शरीरको रोगप्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर बढाउनु नै एक मात्र विकल्प रहेको स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् ।यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवनमा जोड दिन थालेका छन् । र, नेपालको एक मात्र केन्द्रीय आयुर्वेद चिकित्सालयमा पनि रोग प्रतिरोधि क्षमता बढाउने औषधि लिन मान्छेको भीड लाग्न थालेको छ ।कोभिड– १९ को औषधि पत्ता नलागेका कारण रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि लिन आएको बताउ छन् देव मानन्धर । चिकित्सालयले कोरोना भाइरसको सङ्क्रमण बच्न स्वस्थ रहन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पादन गरेर वितरण गरिरहेको छ ।चिकित्सालयले २५ सयभन्दा बढी कोरोना सङ्क्रमितलाई यो औषधि वितरण गरिसकेको छ ।


विभिन्न जडीबुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको चिकित्सालयका निर्देशक डा। प्रदीप केसीले बताए । चिकित्सालयले मौसमी रुघाखोकीका बिरामीलाई लक्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरामीलाई निःशुल्क वितरण गर्दै आएको छ ।जेष्ठवासादि, गुडुची र यष्ठिमधुको मिश्रणलाई निश्चित विधि र मात्रा मिलाएर कोरोना सङ्क्रमित र अन्य बिरामीलाई रोगप्रतिरोधी क्षमता विकास गर्न निःशुल्क वितरण गरिएको छ ।‘कोरोना सङ्क्रमितमा देखिने लक्षण र समस्या समाधान गर्न यो औषधि सेवन गर्नु फाइदाजनक छ भन्ने विश्वासका आधारमा वितरण अगाडि बढाएका हौँ,’ उहाँले भन्नभयो, ‘यो औषधिको सय वर्षको इतिहास छ ।’

नरदेवी चिकित्सालयले सुक्खा खोकी र हल्का ज्वारो आउने समस्या भएकाका लागि पित्तपापडा र नागकेशरको मिश्रणमा आमपाचक औषधि तयार गरेको छ । असुरो र तालिसपत्रको सम्मिश्रणमा तयार पारेको औषधिले श्वास फेर्न गाह्रो भएकाहरूलाई सहज गराउँछ । यसले पाचन प्रणालीमा आउने समस्यासमेत समाधान गर्छ ।आयुर्वेदले पाचन प्रणाली नै रोग प्रतिरोधात्मक क्षमताको मुख्य केन्द्र भएको पुष्टि गरिसकेको छ । त्यसैले सोही ठाउँबाट नै रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ भन्ने विश्वासका आधारमा सुकमेल, ल्वाङ र दहिकाम्लोको मात्रा समावेश गरेर चिकित्सालयले औषधि उत्पादन गरेको चिकित्सक बताउँछन् ।‘गम्भीर अवस्थामा पुगेका संक्रमितले भने यो आयुर्वेदिक औषधिको मात्रै भर पर्नुहुँदैन,’ निर्देशक केसी भन्छन्, ‘त्यस्ता बिरामीलाई अक्सिजन थेरापी र आइसियू भेन्टिलेटरको आवश्यकता पर्छ । ज्यादै कम अक्सिजन भएको वेला आयुर्वेदिक औषधिले मात्रै ठीक नहुन सक्छ । तर, हाल होम आइसोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुन्छ । यो औषधिको सेवनले उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्छ ।’

अन्य निजी अस्पतालहरुले पनि कोरोना विरुद्ध लड्न आयुर्वेद अस्त्रको प्रयोग गरिरहेका छन्। व्यक्तिगत हिसाबले पनि आयुर्वेद पद्धतिलाई अनुसरण गर्ने नेपाली जनताको लर्को पनि लामै छ।आयुर्वेदमा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रारम्भिक रुपमा जनाइएको छ । घरायसी रुपमा सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिन्छ ।

घरको आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसार मिसाएर घरमै उमालेर बिहान बेलुका एक–एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ र त्यसले दिने शक्तिले शरीरको क्षमतामा समेत वृद्धि ल्याउँछ। त्यस्तै घरघरमा पाइने तुलसी र मरिचको चिया खाँदा मेत प्रतिश्याय, ज्वर, शिरमा भारीपन हुने लगायतका प्रतिरोधात्मक क्षमतामा ह्रास आउने पूर्वरुपलाई निषेध गर्छ।क्रमबद्ध रुपमा यी र अरु सबै कुराहरु हालै संयुक्त रुपमा सरकारी स्तरबाट जारी भएका प्रोटोकलमा स्पष्ट उल्लेखित छन्। त्यसैले पनि सुनेका र चलेका गफका आधारमा भन्दा पनि उचित विज्ञको परामर्शमा मात्र आयुर्वेद पद्धतिलाई अवलम्बन गर्नुहुन सम्पूर्णमा अनुरोध गर्न चाहन्छु। साथै बुझ्ने कोटीमा पर्ने आधुनिक चिकित्साका सारथीहरुलाई समेत प्रतिशोध स्वरुप आयुर्वेदसम्बन्धी अनावश्यक भ्रम नफिँजाउनु हुन आग्रह गर्न चाहन्छु।

( गोरखापत्र अनलाइन )
रासस
लेखकको बारेमा
रासस