ताजा अपडेट »

भारतमा एकैदिनमा चार लाखभन्दा बढी सङ्क्रमित

शनिबार, १८ बैशाख २०७८, १३ : २५
12 Shares

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेकोे छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ ।

रासस
लेखकको बारेमा
रासस