ताजा अपडेट »

निषेधाज्ञाबीच वाग्मती सफाइ महाभियान जारी

शनिबार, १८ बैशाख २०७८, १२ : ४९
4 Shares

काठमाडौँ । नयाँ भेरियन्टको कोरोना भाइरस ९कोभिड–१९०बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा वाग्मती सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवम् अभियानकर्मी डा माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ ।

सफाइमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अधिकार सम्पन्न वाग्मती समितिका सरस्वती निरौलाको सक्रियता थियो । सफाइका क्रममा पशुपति क्षेत्रमा फोहर देखिएको अभियानकर्मी खरेलले जानकारी दिए। पशुपति क्षेत्र विकास कोषमा धेरै सफाइकर्मी कर्मचारी भए पनि पशुपति क्षेत्र भने सफाइ हुननसकेको अभियानकर्मीको टिप्पणी छ । खोलाभित्र प्रवेश गरेर तीन अभियानकर्मीले सफाइ गरेका थिए ।

यसैगरी अभियानकर्मी डा लक्ष्मी पोडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । करिब सात जनाको सहभागितामा भएको सफाइमा अभियानकर्मी प्रिया लामिछानेको जन्मदिनका अवसरमा नदी किनारमा वृक्षरोपणसमेत गरिएको थियो ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती नदी क्षेत्रमा सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले गोठाटार पुलमुनिको साकुरा बगैँचा क्षेत्रमा सफाइ गरेको छ । सबै सफाइ अभियानका भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियान चाड पर्व, वर्षा, जाडो, भूकम्पको त्रास, कोरोना महामारीका बेलासमेत निरन्तर जारी छ ।

यसैगरी तिलगङ्गालगायत अन्य क्षेत्रको सफाइ अभियान भने आज टोल, घर, आँगन सफाइ गरी सम्पन्न गरिएको छ । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी हुँदा नदी किनार नजिक निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिएका थिए । नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने टोल, घर, आँगन सफाइ गरी अभियानलाई निरन्तरता दिएका थिए ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी सफाइ अभियान पनि शुरु गरिएको छ । सहायक नदीमा पनि आज किनार नजिक निवास भएका अभियानकर्मीले निरन्तरता दिएको जनाइएको छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिर मुख्य शहर, प्रमुख नदी र सांस्कृतिक सम्पदास्थल क्षेत्रमा सफाइ अभियान जारी छ ।

रासस
लेखकको बारेमा
रासस