ताजा अपडेट »

स्वास्थ्य मन्त्रालयको अभिव्यक्तिप्रति शान्ति समाजको आपत्ति

शनिबार, १८ बैशाख २०७८, १२ : ४९

बुुटवल । नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले मिति २०७८/०१/१७ गते सार्वजनिक गरेको ‘सर्वसाधारणमा अपिल’ बिषयमा मानवअधिकार तथा शान्ति समाजले गम्भीर ध्यानाकर्षण गराएको छ । ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैंया उपलब्ध गराउन नसकिने भइसकेको छ ।’ भन्ने सरकारको उक्त अभिव्यक्तिप्रति शान्ति समाजले आपत्ति व्यक्त गर्दै एक विज्ञप्ती जारी गरेको छ ।

शनिबार जारी विज्ञप्तिमा भनिएको छ ‘यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोबैज्ञानिक भय र हतासा सृजना गरेको छ भने महाबिपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्यूनतम दायित्वबाट एकातिर सरकार च्यूत भएको देखिन्छ भने सरकार बिहिनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुःखद एवम् दुर्भाग्यपूर्ण छ ।’

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमिति, सभापति अध्यक्ष गोविन्द खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिश्वब्यापी महाबिपत्तिको रुपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी रहेको र संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउन नहुने बताइएको छ ।

समाजले सबै क्षेत्र, समुदायसँग सहकार्य गर्न शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको बताउँदै यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत संवद्ध सबैलाई आग्रह समेत गरेको छ । साथै आफ्नो क्षमताले भ्याएसम्म शान्ति समाज सदैव सहयोगीको रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गर्दै अराजकता र अव्यवस्थालाई बढावा दिने काम कसैले पनि गर्न नहुनेतर्फ शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।