ताजा अपडेट »

पाल्पामा आज राति र गुल्मीमा भोलि रातिदेखि निषेधाज्ञा

शुक्रबार, १७ बैशाख २०७८, १७ : ०२
2 Shares

बुटवल । दुई सय सक्रिय संक्रमित रहेका पहाडी जिल्लामा लकडाउन गर्ने सरकारको निर्णय अनुरुप लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने भएको छ । पाल्पा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निणर्य गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढिरहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो ।प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन । सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु जम्मा हुन, भीडभाड गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गरिएको उनले बताए ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, नाचघर, क्लब, फुटसल, जिमखाना, ब्युटी पार्लर, सैलुन, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पसललगायत नखोल्ने निणर्य भएको छ । विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै सञ्चालन गर्नुपर्ने र त्यस्ता कार्यक्रमम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एकपटक बिहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न पाइने छ ।

अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु सञ्चालन गर्न पाइनेछ ।

सबैखाले सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने पनि प्रशासनले बताएको छ । यस अवधिमा पत्रकार तथा सञ्चारकर्मीहरुले समाचार संकलन लागि हिँडडुल गर्न परेमा सूचना विभाग वा कार्यरत सञ्चारगृहको परिचयपत्र अनिवार्य रुपमा लिएर हिँड्नुपर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यता कोरोनाभाइरस संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि गुल्मीमा पनि लकडाउन घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति डिसीसीएमसीको बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म लकडाउन गर्ने निणर्य गरेको हो ।

जस अनुसार भोली राति १२ बजेदेखि २५ वैशाखसम्म लकडाउन हुने भएको हो । उक्त अवधिमा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने अत्यावश्यक उपभोग्य बस्तु बेच्ने पसल विहान ७ देखि नौ बजेसम्म, निर्माण सामग्री बेच्ने पसल विहान ७ देखि ९ बजेसम्म र बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको छ ।

यसबाहेक सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर जिल्ला हुँदै चल्ने लामो दूरीका सवारी साधन भने चल्न पाउनेछन् । तर जिल्ला भित्र रोकिन भने पाउने छैनन् । त्यस्तै एम्बुलेन्स, प्रेस, दुध , पानी बोक्ने गाडीहरु भने चल्न पाउने प्रशासनले जनाएको छ । जिल्लामा कोभिडको दोस्रो लहर व्यापक फैलिदा हालसम्म ६ जनाको निधन भइसकेको छ भने २ सय भन्दा बढी संक्रमित नाघिसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।