ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा ४५ आइसोलेसन बेडसहित कोरोना विशेष अस्पताल

विहीबार, १६ बैशाख २०७८, १५ : ४३
6 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आएको छ । नगरको वडा नम्बर १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा आएको हो ।

अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् । बिहीबार अस्पतालको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अहिले नयाँ भेरियन्टको कोरोना भाइरस तीब्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गगे । उनले जिल्ला प्रशासनले आजदेखि लागु गरेको निषेधाज्ञाको समेत पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । ढकालले प्रदेश सरकारले कोरोना रोकथामका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै थप कार्य योजनाका लागि सर्वदलीय बैठक राखेर अघि बढिने बताए ।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्सरे, तीन वटा प्यारामिटर थप भएमा ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए । उनले यो सुविधा उपलब्ध भएमा नगरसँगै आसपासका पालिकाहरुमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले कोरोना रोकथामका लागि सैनामैना नगरपालिकाले जिल्लामै उत्कृष्ट कदम चालेको बताए । रुपन्देहीका १६ वटै पालिकाले यसको सिको गर्न जरुरी रहेको उल्लेख गर्दै कोरोनाबाट बच्नका लागि सबै सचेत हुनुपर्ने औल्याए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।