ताजा अपडेट »

प्रतिभा मृत्यु प्रकरण : विद्यालयमा भौतिक आक्रमण गर्नेलाई कारबाहीको माग

बुधबार, १५ बैशाख २०७८, १७ : २९
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित प्यारामाउण्ट बोर्डिङले स्व.प्रतिभा सापकोटाको विषयमा विद्यालयमाथि लगाइएका आरोपहरु निराधार रहेको बताएको छ । प्रतिभाको मृत्युपछि विद्यालयमा भएको आक्रमण, तोडफोड र सञ्चालकप्रति गरिएको व्यवहार निन्दनीय भएको बताउँदै घटनामा संलग्नलाई यथाशीघ्र कार्बाही गर्न प्रशासनसँग माग गरेको छ ।

कक्षा १० मा अध्ययनरत छात्रा सापकोटाको बैशाख ११ गते भएको मृत्यु र त्यसपछि भएका घटना बारे विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै विद्यार्थी मृत्यु र त्यसपछि भएका घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न र मृतकका परिवारलाई न्याय दिलाउन माग गरेको छ । छात्राको अकल्पनीय मृत्युले मर्माहत भएको अवस्थामा विद्यालय तथा विद्यालय परिवारमाथि भौतिक रुपमा गरिएको आक्रमण निन्दनीय भएको विद्यालयले जनाएको छ । सत्यतथ्य छानविनका लागि मृतक सापकोटाको पोष्टमार्टम गर्न समेत विद्यालयले आग्रह गरेको छ ।

प्रतिभा सापकोटाको बैशाख १० गते शुक्रबारसम्म स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र साँझ ७ बजेतिर होस्टेल अगाडी चौरमा छात्राहरुको समूहको बसाई र नाचगानमा उनी सक्रियतापूर्वक सहभागी भएको विद्यालयले जनाएको छ । यस्तै बैशाख ११ गते बिहान सापकोटाले आफ्नो स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी साथी मार्फत होस्टेल वाडेनलाई जानकारी गराएपछि होस्टेलबाट तत्काल उनका अभिभावक प्रकाश सापकोटालाई सम्र्पक गरेर होस्टेलमै बोलाएर स्वास्थ्यमा भएको समस्याका बारेमा जानकारी गराएको र अभिभावक सापकोटाले विहान करिब ८ बजेतिर प्रतिभालाई होस्टेलबाट लिएर गएको विद्यालय प्रशासनले जनाएको छ ।

होस्टेलबाट लगेपछि प्रतिभाको अवस्थाका बारेमा विद्यालयलाई कुनै जानकारी नगराएको र शनिबार दिउँसो करिब २ः१५ बजे अचानक प्रतिभाका अभिभावकसहितको समूहले विद्यालय भित्र प्रवेश गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, निमित्त प्रअ लगायतमाथि भौतिक आक्रमण र बसका शिशा तोडफोड लगाएत हिंस्रक क्रियाकपाल हुनुले नियत र प्रवृत्तिले घटनालाई थप अतिरञ्जित बनाएको विद्यालय प्रशासनले बताएको छ ।

यस्तै विद्यार्थीको मृत्यु प्रकरण बारे जानकारी लिने र सामान्य छानविन र अनुसन्धान गर्ने समय समेत नदिई विद्यालय अध्यक्ष लगायतलाई करकापमा पारी बास्तविकताभन्दा फरक कसुर स्वीकार्न बाध्य पारिएको र अनुचित सम्झौता भएको १२ घण्टा भित्रै त्यसलाई स्वयम् लत्याउँदै भौतिक आक्रमण भएको पत्रकार सम्मलेनमा जानकारी गराएको छ ।

विद्यार्थी प्रतिभा सापकोटाको मृत्यु प्रकरणमा विद्यालयको दोष भए विद्यालय बन्द गर्न तयार रहेको विद्यालयका कानूनी सल्लाहार भरत भुसालले बताए । ‘प्रतिभाको मृत्युमा विद्यालयको कुनै दोष छैन ।’-पत्रकार सम्मेलनमा बौल्दै भुसाले भने ‘कुनै दोष, कमिकमजोरी भए विद्यालय बन्द गर्न तयार छौँ ।’ यस्तै प्रतिभासँग होस्टेलमा बस्ने र अध्ययन गर्ने ४३ जना विद्यार्थीको कोरोना परीक्षण गर्दा कसैमा पनि पोजेटिभ नदेखिएको विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राम गिरीले बताए ।

https://www.globalaawaj.com/archives/101836
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।