ताजा अपडेट »

रुपन्देहीका युवा क्रिकेटर कुशल भुर्तेलको छलाङ, विदेशका चर्चित खेलाडीभन्दा अघि

बुधबार, १५ बैशाख २०७८, १६ : ३३
10 Shares

बुटवल । रुपन्देहीका युवा क्रिकेटर कुशल भुर्तेलले आइसीसीको वरीयतामा महत्वपूर्ण छलाङ मार्न सफल भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर भुर्तेल आईसीसीले सार्वजनिक गरेको टी-२० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुग्न सफल भएका हुन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल बंगलादेशका शकिब अल हसन, भारतका सूर्यकुमार यादव र ऋषभ पन्त, अष्ट्रेलियाका स्टिभ स्मिथ भन्दा अघि छन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए ।

नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिजमा डेब्यु गर्दै उत्कृष्ट ब्याटिङ गरेपछि उनी वरीयतामा समावेश भएका थिए । सिरिजको उपाधि नेपालले जित्दा सर्वाधिक २७८ रन बनाएका उनले वरीयतामा धेरै स्थान सुधार गरेका हुन् । भुर्तेलले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाउनुका साथै एकै सिरिजको ५ खेलमा चार अर्धशतक प्रहार गरेका थिए ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन् । यस्तै नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी ५६ स्थान सुधार गर्दै १०८ औं स्थानमा उक्लिएका छन् । त्रिकोणात्मक सिरिज नखेलेका पारस खड्का भने ८३ औं स्थानबाट ८८ औं स्थानमा झरेका छन् । बलिङतर्फ नेपाली लेग स्पीनर सन्दीप लमिछाने ७७ औं स्थानमै यथावत छन् । त्रिकोणात्मक सिरिजमा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए ।

https://www.globalaawaj.com/archives/101727
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।