ताजा अपडेट »

टि–१० क्रिकेटको‌ उपाधि न्यू होराइजनलाई

मंगलबार, १४ बैशाख २०७८, १९ : ३४
14 Shares

भैरहवा । तिलोत्तमा क्रिकेट क्लबलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्यू होराइजन क्रिकेट क्लबले भैरहवामा सम्पन स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । जितसँगै होराइजनले नदर ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको तिलोत्तमाले २५ हजार र ट्रफी प्राप्त गरेको छ । मंगलबार सिद्धार्थ रंगशालमा भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले ९ विकेटको क्षतिमा ३४ रन मात्रै बनायो । उसका लागि माधब बस्नेतले नटआउट ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका शुसान भारीले ३, कुशल मल्लले २ तथा विपिन खत्री, शक्ति गौचन र गोबिन्द केसीले समान १/१ विकेट लिए ।

प्रतिउत्तरमा न्यु होराइजनले २ ओभर ४ बलमा बिना क्षति ३६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा कुशल मल्लले नटआउट २७ र प्रकाश गिरीले नटआउट ९ रन बनाए । शुसान भारी म्यान अफ दि फाइनल भइ पुरस्कृत भए । यसअघि आजै भएको सेमिफाइनलमा न्यू होराइजनले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ५ विकेट र तिलोत्तमाले गोर्खा वारियर्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगितामा तिलोत्तमाका यम क्षेत्री म्यान अफ द सिरीज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, लुम्बिनी खुकुरीका शंकर रानाले बेष्ट ब्याट्सम्यान र तिलोत्तमाका कृष्ण पराजुलीले बेष्ट बलरको उपाधि हात पारे । उनीहरुले समान ५/५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी तिलोत्तमाकै भुवन गैरेले बेष्ट क्याच, खुकुरीका शंकर रानाले बेष्ट सिक्सेसको पुरस्कार हात पारे । उनीहरुले दुई हजार ५ सय रुपैयाँ प्राप्त गरे । यस्तै, तिरुपति क्रिकेट क्लब अनुशासित टिम हुँदै पुरस्कृत भयो । प्रतियोगितामा सेमिफाइनल खेलेका लुम्बिनी खुकुरी र गोर्खा वारियर्सलाई १०÷१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

विजयी टिमलाई जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्मा, आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)का अध्यक्ष विमल सेन्चुरी लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता थियो । कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै प्रतियोगितालाई छोट्याएर मंगलबार मात्रै सेमिफाइनल र फाइनल खेल खेलाइएको हो ।

https://www.globalaawaj.com/archives/102716
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।